ट्रान्सपरेन्सी इन्टरनेशनलद्वरा गरिएको भ्रष्टाचार सम्बन्धी विश्वकै सबभन्दा ठूलो नागरिक मत सर्वेक्षणले गत १२ महिनामा प्रत्येक चार व्यक्तिमा एक भन्दा बढी व्यक्तिले घुस दिएको दर्शाएको छ ।

बर्लिन, ९ जुलाई १३ । ट्रान्सपरेन्सी इन्टरनेशनलद्वारा गरिएको विश्वकै सबभन्दा ठूलो नागरिक मत सर्वेक्षण अनुसार हरेक दुई व्यक्ति मध्ये एक भन्दा बढीले गत दुई वर्षमा भ्रष्टाचार अझ बढेको ठानेका छन् । तर सर्वेक्षणमा सहभागी व्यक्तिहरु परिवर्तन सम्भव छ भन्ने कुरामा दृढ विश्वास राख्दछन् र घुस विरुद्ध कदम चाल्न इच्छा शक्ति राख्दछन् ।

ग्लोबल करप्सन व्यारोमिटर २०१३ एक सय सात मुलुकका एक लाख १४ हजार व्यक्तिहरु माझ गरिएको सर्वेक्षणले भ्रष्टाचार व्याप्त रहेको देखाएको छ । उत्तरदाताहरुमध्ये २७ प्रतिशत व्यक्तिहरुले गत १२ महिनामा सार्वजनिक सेवा र सेवाप्रदायक संस्थाबाट सेवा लिँदा गर्दा घुस दिएको बताएका छन् । विगतका सर्वेक्षणहरुले दर्शाए अनुसार भ्रष्टाचारको अवस्थामा अपेक्षाकृत सुधार हुन सकेको छैन ।

सर्वेक्षण गरिएका १० व्यक्ति मध्ये झन्डै नौ जना भ्रष्टाचारविरुद्ध कदम चाल्न तत्पर छन् र उनीहरुमध्ये दुई तिहाइले घुस दिन अस्वीकार गरे । साथै सरकार, नागरिक समाज र व्यापार क्षेत्रले भ्रष्टाचारको प्रतिरोध गर्न नागरिकहरुको व्यापक सहभागिताका लागि जोड दिनु जरुरी रहेको सुझाब दिए ।

घुसको लेनदेन विश्वव्यापी रुपमा उच्चस्तरमा छ तर नागरिकहरुमा भ्रष्टाचार रोक्न सकिने शक्ति रहेको विश्वास छ । ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष ह्युगेट लावेल भन्छन्— शक्तिको दुरुपयोग विरुद्ध, गोप्य कारोबार र घुस लेनदेन विरुद्ध लड्न इच्छुक मानिसहरु थुप्रै छन् ।

ग्लोबल करप्सन ब्यारोमिटर २०१३ अनुसार थुप्रै देशमा भ्रष्टाचार र अपराध नियन्त्रणका लागि स्थापित भरोसा गर्नुपर्ने संस्थाहरु प्रति नै नागरिकको विश्वास नरहेको देखियो । ३६ देशको मत अनुसार प्रहरी अति भ्रष्ट छ र ती देशहरुमा सरदर ५३ प्रतिशत मानिसहरुसँग प्रहरीले घुस मागेका छन् । त्यस्तै २० देशको मत अनुसार न्यायपालिका अति भ्रष्ट छ र ती देशको न्यायप्रणालीको सम्पर्कमा आएका सरदर ३० प्रतिशत मानिससँग घुस मागिएको छ ।

ह्युगेट लावेलका अनुसार नागरिकले भ्रष्टाचारविरुद्ध उठाएको आवाजलाई सरकारले गम्भीरतापूवर्क लिनुपर्छ, पारदर्शिता र उत्तरदायित्व बढाउनका लागि सरकारले ठोस कदम चाल्नुपर्छ । विशेषगरी जी २० मुलकका सरकारहरुले सशक्त नेतृत्व गर्न आवश्यक छ । जी २० मुलुकका २० वटा मध्ये १७ देशका ५९ प्रतिशत उत्तरदाताहरुले ती देशका सरकारले भ्रष्टाचार नियन्त्रणका लागि प¥याप्त काम नगरेको बताए ।

राजनीतिज्ञहरुले आफूप्रतिको विश्वास पुनःआर्जन गर्न धेरै काम गर्न बाँकी छ । ग्लोबल करप्सन ब्यारोमिटर २०१३ ले राजनीतिमा विश्वासको संंकट र अपराधीलाई कारबाही गर्ने निकायको क्षमताउपर गम्भीर चासो व्यक्त गरेको छ । यो सर्वेक्षणले विश्वका ५१ वटा देशका राजनीतिक दलहरु सबैभन्दा भ्रष्ट संस्थाका रुपमा रहेको देखाएको छ । साथै ५५ प्रतिशत उत्तरदाताहरु निहित स्वार्थका लागि सरकार सञ्चालन हुने गरेको सोच्दछन् ।

राजनीतिज्ञहरुले आफ्नो र आफ्नो परिवारका नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरी उदाहरणीय नेतृत्व प्रस्तुत गर्न सक्छन् । सँगसँगै राजनीतिक दलहरु र स्वतन्त्र उमेद्वारले कहाँबाट पैसा प्राप्त गर्छन्— खुलासा गर्नुपर्छ । जसले उनीहरुलाई कसले आर्थिक सहयोग गर्छ भन्ने देखाउँछ र स्वार्थको संभावित द्वन्द्व उजागर गर्दछ ।

विश्वभरिका मानिसहरुले भ्रष्टाचार नियन्त्रणका लागि नेताहरुले गरेको प्रयासको मूल्यांकन गर्दै २००८ को आर्थिक संकट आउनुअघि ३१ प्रतिशत मानिसले उनीहरुको सरकारले भ्रष्टाचार नियन्त्रणका लागि गरेको प्रयास प्रभावकारी रहेको बताउँथे भने यस वर्ष त्यो संख्या २२ प्रतिशतमा झरेको छ ।

लाबेलले अगाडि भनेका छन्— सरकारले भ्रष्टाचार नियन्त्रणका लागि स्थापित संस्थाहरु सशक्त, स्वतन्त्र र स्रोतसाधन सम्पन्न भएको सुनिश्चित गर्नुपर्छ । भ्रष्टाचारको सास्तीले मुख्य संस्था र आधारभूत सेवा कमजोर बनाएको छ । जसका कारण थुप्रै मानिसलाई आघात पुगेको छ ।