timthumb.php

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनशक्तिको अभावमा भूकम्पपीडितको आवास निर्माणको कामले गति लिन नसकेको जनाएको छ। प्राधिकरणले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अहिलेसम्म गरेका काम र भावी योजनाबारे जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले भूकम्प पीडितहरुको आवास निर्माणमा जनशक्ति अभाव चुनौतीको रूपमा रहेको जिकिर गरे।

‘गाउँमा एक त युवा जनशक्ति नै छैन, भएकाहरुलाई पनि तालिम दिन सकिएको छैन,’ सिइओ पोखरेलले भने, ‘जनशक्ति अभावलाई समाधान गर्न विदेश जाने नेपालीलाई यतै रोक्नेबारे योजना बनाइरहेका छौं।’

पोखरेलले पहिलो किस्ता लिएकामध्ये ५० प्रतिशतले बजेट कम भएकाले पुनर्निर्माणको कामलाई अघि बढाउन नसकेको गुनासो गरेको बताए। ‘हामीलाई थाहा छ, सरकारले दिने तीन लाखले घर बनाउन पुग्दैन’, उनले भने, ‘यसको अर्थ सबै पैसा सरकारले दिनुपर्छ होइन लाभग्राहीले आफैंले काम गरेर रकम थपथाप गरेर घर बनाउनु पर्छ।’

प्राधिकरणले हालसम्म ४० प्रतिशत भूकम्प पीडितहरुको आवास निर्माणको काम भइरहेको तथ्यांक समेत पेश गरेको छ । तर त्यसमा पनि पहिलो किस्ताको रकम नपाउनेहरुको संख्या उल्लेख्य रहेको प्राधिकरणकै वेबसाइटमा उल्लेख गरिएको छ। प्राधिकरणले १ लाख २९ हजार ९ सय ८ वटा गुनासो आएको बताए पनि त्यसलाई सम्बोधन भने गर्न नसकेको देखिएको छ। प्राधिकरणले यी सबै समस्या स्थानीय तहको निर्वाचनपछि समाधान हुने विश्वास व्यक्त गर्दै आएको छ।

प्राधिकरणले ९० वटा पुरातात्विक सम्पदाहरुको पुनर्निर्माणको काम भइरहेकोमा बौद्धनाथ क्षेत्रको मात्रै पुनर्निर्माण सम्पन्न भएको विवरण पनि सुनाएको छ। भूकम्पमा परी ७ सय ५० वटा पुरातात्विक सम्पदाहरुको क्षति भएको विवरण प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ। २ सय स्वास्थ्य संस्थाको पुनर्निर्माण भएको छ। त्यसैगरी ३ सय ६३ वटा खानेपानी आयोजनाको काम सम्पन्न गरिएको छ। प्राधिकरणले चालु आर्थिक वर्ष भित्र १ सय ४६ वटा खानेपानी आयोजनाको पुनर्निर्माणको कामलाई सम्पन्न गर्ने योजना पनि बनाएको छ।

प्राधिकरणको तथ्यांकमा हालसम्म लाभग्राही आफंैले निर्माण गरेका आवासको संख्या १८ हजार ६ सय ३३ जना रहेको पनि उल्लेख छ। सरकारले पाँच वर्षभित्र भूकम्पपछिको पुनर्निर्माणको काम सम्पन्न गर्ने गरी प्राधिकरणको गठन गरेको हो।

http://setopati.com/raajneeti/67862/