मंसिर ५, काठमाडौं । चिकित्साक्षेत्रमा बढ्दो विकृत व्यावसायीकरणको विरोध, गुणस्तरीय सेवा र सुशासन प्रवद्र्धनजस्ता विषयलाई प्रमुख मुद्दा बनाइ ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालबाट राष्ट्रिय सदाचार सम्मान २०७२ द्वारा विभुषित सम्मानित व्यक्तित्व वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द के.सी. दशौं पटक अनसन बस्नु भएको समाचारप्रति यस संस्थाको ध्यान आकृष्ट भएको छ ।

विगतमा ९ पटकसम्म अनसन बसुन्जेल विभिन्न समयमा नेपाल सरकारले डा. के.सी. द्वारा उठाइएका संवेदनशील मागप्रति पूर्ण सहमति जनाउँदै तिनलाई सम्बोधन गर्ने प्रतिवद्धता जाहेर गर्दै सम्झौता गरेको तथ्य जगजाहेर छ ।

राज्यद्वारा सम्झौता गरिएका यस्ता सम्झौता पालन गर्ने गराउने प्रमुख दायित्व सरकारको नै हो । पटक पटक सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने,नगराउने प्रवृत्तिले सरकारप्रति आम नागरिकको विश्वसनीयता दिनप्रतिदिन घट्दै जानु स्वाभाविक छ । सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिवद्धता जनाउने राजनीतिक दल र सरकारले डा. के.सीद्वारा औंल्याइएका संवेदनशील विषयहरुलाई ध्यान दिन नसक्दा नेपालमा विधिको शासन, पद्धति निर्माण र सुशासन कायम गर्ने जिम्मेवारीबाट नेपाल सरकार विमुख हुँदै गएको सन्देश प्रवाह भइरहेको छ । नेपाल र नेपालीको आत्मसम्मान गिर्ने यसप्रकारका कार्यबाट स्वाभिमानी नेपालीलाई हिनताबोध भएकोतर्फ पनि सरकार संवेदनशील होस् भन्ने टीआई नेपाल चाहन्छ ।

अतः जवाफदेही प्रक्रिया, सुव्यवस्था र सुशासन स्थापित होस् भनेर आफ्नो जीवनको समेत पर्वाह नराखी दृढ अठोट र अदम्य साहसका साथ सदाचार प्रवद्र्धन अभियानमा लाग्नुभएका वरिष्ठ चिकित्सक डा. गोविन्द के.सी.द्वारा प्रस्तुत मागप्रति टीआई नेपाल ऐक्यवद्धता प्रकट गर्दछ । साथै यसअघि उहाँ र नेपाल सरकारका बीचमा भएको सम्झौता यथाशीघ्र कार्यान्वयन गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल नेपाल सरकारसमक्ष हार्दिक आह्वान गर्दछ ।

 

श्रीहरि अर्याल

अध्यक्ष