वैशाख ११, २०७४- मुलुकको भ्रष्टाचार नियन्त्रणमा राजनीतिक संरक्षण नै प्रमुख समस्या भएको सरोकारवालाहरुले औल्याएका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सोमवार राजधानीमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले राजनीतिमा भ्रष्टाचार मौलाउनु डरलाग्दो विषय भएको विचार राखे ।

कार्यपत्र प्रस्तुत गर्दै कान्तिपुरका समाचार सम्पादक हरिबहादुर थापाले लोकतन्त्रपछिको १० वर्षमा मुलुक सुशासनतर्फ उन्मुख हुन नसकेको टिप्पणी गरे । ‘भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि दलका नेताहरुले सुध्रिने प्रतिवद्धता जनाएकाले नै हामी लोकतान्त्रिक संघर्षमा सहभागी भएको हो’ थापाले कार्यपत्र पेश गर्दै भने, ‘लोकतन्त्रपछिको एक दशक पनि सुशासनका दृष्टिले
सुखद हुन सकेन ।’

उनले नेपाल भ्रष्टाचारको जोखिमयुक्त मुलुकको सूचीमा रहेको उल्लेख गर्दै त्यसमा पनि बढ्दो राजनीतिक भ्रष्टाचार प्रमुख समस्या रहेको औल्याए । प्रजातान्त्रिक कालखण्डको तुलनामा लोकतन्त्रिक कालखण्डमा जनप्रतिनिधीमूलक संस्थाहरुमा व्यापारिक र व्यवसायिक स्वार्थ जोडिएको र त्यसको प्रभाव रहेको बताए । विभिन्न पदमा नियुक्तीका लागि राजनीतिक मोलमोलाई हुनेगरेको उल्लेख गर्दै उनले संसदमा नीतिगत भ्रष्टाचार मौलाउनु अर्को चुनौती भएको बताए ।

कार्यपत्रमाथि टिप्पणी गर्दै वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले नीतिगत तहमा र सरकारी नियमहरु मिचेर भ्रष्टाचार हुने गरेको बताए । नागरिकहरुको आस्थाको अन्तिम केन्द्रको रुपमा रहेको न्यायालयमा समेत अनियमितताको गुनासो आउनेगरेको भन्दै उनले राजनीति नसुध्रिएसम्म कुनैपनि क्षेत्रको भ्रष्टाचार नियन्त्रण गर्न कठिन हुने धारणा राखे । कार्यपत्रमाथि टिप्पणी गर्दै पत्रकार युवराज घिमिरेले नेपालमा पछिल्लो समय संस्थागत भ्रष्टाचार मौलाएको धारणा राखे ।

संसदको सुशासन समितीका सभापति मोहनसिंह राठौरले राजनीतिलाई आधार बनाएर लाभ लिने प्रवृतिलाई निरुत्साहित गर्नुपर्ने टिप्पणी गरे । उनले आफू राजनीतिक दलको कार्यकर्ता भएपनि आफू सांसद भएकोमा सार्वजनिक रुपमा गौरवान्वित हुने अवस्था नरहेको गुनासो गरे । ‘निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फत अनियमितता सबैतिर फिजारिएको छ’ उनले भने, ‘केन्द्रमा हेर्दा मन्त्रिपरिषदकै आडमा नीतिगत भ्रष्टाचार हुनु मुलुकका लागि ठूलो दुर्भाग्य भयो ।’

प्रकाशित: वैशाख ११, २०७४
http://kantipur.ekantipur.com/news/2017-04-24/20170424195415.html