भ्रष्टाचार बुझ्ने बाह्रखरी

रामकृष्ण रेग्मी

किताब

डा. देवेन्द्रराज पाण्डेले अंग्रेजी भाषामा लेख्नुभएको पुस्तक ‘द आइडिया अफ इन्टिग्रेटी एन्ड द युनिभर्स अफ करप्सन एन्ड एन्टी करप्सन’को शीर्षकलाई शाब्दिक अनुवादका रूपमा ‘भ्रष्टाचार र भ्रष्टाचार–विरोधको ब्रह्मााण्डमा सदाचारको सोच’ भनेर बुझ्दा वा लेख्दा हुन्छ। त्यसको भावार्थ स्पष्ट छ— भ्रष्टाचार परिसरलाई बुझ्न र त्योसँग प्रभावकारी रूपमा जुध्न समाजलाई अहिले साह्रै अप्ठेरो परिरहेको छ, यसैले सदाचारलाई जगाउनु, अभ्यास गर्नु जरुरी छ। भ्रष्टाचारको प्रतिपक्षका सबैेलाई पुस्तकको अमन्त्रण छ : सदाचारमा सहकार्यको सञ्जाल बनाऔं, त्यसमा सहभागी बनौं, त्यसैबाट भ्रष्टाचार हटाऔं।

रेडइन्क बुक्सले सन् २०१८ मा प्रकाशन गरेको यो पुस्तकका ५२३ पृष्ठमा चार भाग, एघार परिच्छेद, प्राक्कथन, कृतज्ञता, परिचय र पुछारमा उपसंहार (एपिलोग), आपेन्डिक्स, रेफरेन्स र इन्डेक्स छन्। तिनले डा. पाण्डेको सिर्जनालाई शोध एवं छापाविषयक मान्यता एवं मूल्यलाई अन्तर्राष्ट्रिय उचाइ र स्तरअनुरूप पारेका छन्। सबैलाई लेखकले मूल विषयवस्तुवरपर यसरी उनेका छन् कि कुनै एक अंशलाई पनि सम्पूर्ण कृतिबाट हटाउन सकिन्न। जाँदाजाँदै सरहको शैलीमा रचना भएको अंश एपिलोगले त पाठकलाई भविष्यपर्यन्त बौद्धिक चिन्तनमा आबद्ध गर्छ, सोचिरहन बाध्य तुल्याउँछ।

पुस्तकका सन्देश अनेक छन्, सबै नै बौद्धिक चिन्तन र व्यावहारिक वास्तविकतामा आधारित छन्। आफ्ना अवधारणालाई पुष्टि गर्न लेखक विश्व इतिहास, मानव सभ्यता, विविध विद्वान्का विचारधारा, रचना तथा उद्धरणका कोठा चोटामा कुनै थकान नदेखाई उत्साहसाथ पुगेका छन्। तिनको र नेपालका अनेक सन्दर्भलाई अक्षरशः उतारेको हेर्दा गर्व लाग्छ, डा. पाण्डेभित्रको एकाग्रतामा र तपस्यामा। पुस्तकका परिच्छेदपिच्छेको सिर्जनालाई चरा दृष्टिले नियाल्दा तिनको शाब्दिक दृश्य रमाइलो छ, बोल घतलाग्दो छ। सबै परिच्छेदको सारांश लेख्न त यस आलेखमा सम्भव छैन। केहीको सांकेतिक चर्चा प्रस्तुत छ।

लेखकको भनाइ स्पष्ट छ— भ्रष्टाचारविरोधको बहसमा वैकल्पिक सोच अनिवार्य छ, पुँजीवादी र प्राचीन समाजवादी अवधारणामा आधारित परम्परागत ढाँचा अब भुत्ते भइसक्यो। विद्यमान सदाचार न्यूनताको रोगबाट पीडितलाई त्राण दिलाउन, विकासलाई स्वस्थ राख्न नवीन मार्ग नलिई हुँदैन। सधैं सम्झिराख्नु पर्छ— भ्रष्टाचार नियन्त्रण अत्यन्त कठोर प्रस्तावना हो, त्यसको बाटो असहज नै छ। भ्रष्टाचारसँग भिड्न अत्यन्त जरुरी निःस्वार्थ त्याग, समर्पण, प्रतिबद्ध भावलाई हुर्काउने चुनौती चानचुने हुँदैन। तिनलाई जोगाउन नदिने व्यक्तिगत रुचि, लोभ, मोह, प्राथमिकता, भौतिक चाहना र तिनको परिपूर्तिको मानवीय स्वभाव एवं मोह निकै बलशाली हुन्छन्। यसैले डा. पाण्डेको परामर्श छ— भ्रष्टाचारविरोधलाई सार्थक पार्न नैतिकताको औंला समाउनु, लक्ष्यमा केन्द्रित बन्नु र त्यसतर्फको सही मार्ग पहिल्याउनु।

डा. पाण्डेको अवधारणामा अग्र्रगामी गतिशीलता अनुभव हुन्छ— भ्रष्टाचारविरोध विषय, अभियानलाई मौलिक सारगर्भित विचारधारामा स्थापित गर्नुपर्छ। शक्तिराष्ट्रका हस्तक्षेपकारी एवं प्रभाव विस्तार बढाउने अवधारणाबाट निर्देशित सोच खतरापूर्ण छ, त्यसमा आफूलाई मिल्दा भ्रष्टाचारलाई छुपाउने, नमिल्दा उदांगो पार्ने प्रवृत्ति अन्तर्निहित हुन्छ। प्रचलित भ्रष्टाचार अध्ययन भ्रष्टाचारविरोध सक्रियताको प्रवृत्ति पनि खोटपूर्ण छन् : तिनबाट त भ्रष्टाचार कुनै प्राविधिक वा निजामती वा मानव स्वभावजन्य कमजोरीका रूपमा मात्र हुने र उपचार रणनीति पनि त्यसैअनुरूप हुनुपर्ने अवास्तविक निक्र्योल पो निस्किरहेछ। भ्रष्टाचारविरोधमा वास्तविक बाधा त इतिहासबाट हस्तान्तरित, सांस्कृतिक परिवेशले सिञ्चित, समाजमा प्रचलित अभ्यास, तिनमा निहित स्वार्थसमूह एवं परिवर्तन नरुचाउनेबीच मौलाइरहेको देखिन्छ, यसको सामना गर्न यी सबलाई सूक्ष्म रूपमा सम्बोधन गर्नैपर्छ। भ्रष्टाचारले समाजलाई नै गाँज्छ, त्यसबाट कोही पनि उम्कन्न तर पनि समाज सञ्चालनको प्रक्रियाअनुरूप प्रभाव कम बढी हुने गर्छ। भ्रष्टाचारले ठहरै पार्ने त समाजका सबैभन्दा बढी कमजोर, किनाराका, गरिब, उपेक्षित, पहुँचविहीन, संसाधनविहीन हुन्। यसैले भ्रष्टाचारविरोधमा सम्पूर्ण समाजको जीवन दर्शनको सोचसम्पन्न रचनात्मक रूपको समावेशी विचारधारा हुनु जरुरी छ।

भ्रष्टाचारविरोधमा सदाचारलाई प्रवद्र्धन गर्न यथासम्भव विविध क्षेत्रबाट ऊर्जा र प्रेरणा लिने अन्वेषणमा लेखक डा. पाण्डे धर्म र आध्यात्मिकतामा पुग्छन् र भन्छन्— मन, वचन, कर्म सबैमा नैतिकता, चारित्रिक शुद्धता तथा भौतिक विलासिताभन्दा माथि उठेको व्यवहार र मनस्थितिले भ्रष्टाचार निवारण गर्न एक किसिमको भावनात्मक आड (इमोसनल आंकर) र आध्यात्मिक औजार (स्पिरिच्युयल फर्निचर) मिल्छ। यस क्रममा आध्यात्मिकता, नैतिकतालाई प्रदूषित नपार्न उहाँले होशियारीपूर्वक धर्मको नाममा रहेका अन्धविश्वास, ढोंग, कर्मकाण्ड, प्रदर्शनात्मक प्रवृत्ति, अदृश्य रहस्यमय जादु शक्ति वा कमाउधन्दालाई कुशल शल्यचिकित्सकले झैं छुट्याइदिनुभएको छ।

भ्रष्टाचार विषयक बहस र त्यसलाई रोक्ने रणनीति दुवै नै उपनिवेशवादबाट अझै प्रभावित रहेका भएका प्रसंगको विहंगम चर्चा गर्दै डा. पाण्डे औंल्याउँछन्— यसैले गर्दा अहिलेको भ्रष्टाचार र भ्रष्टाचारविरोध दुवैको बहसमा, रणनीतिमा अल्पता छ, न्यूनता छ। उपनिवेश युग समाप्त भए पनि त्यसपछिका शासक वर्गले स्वतन्त्रतालाई हाँक्ने नाममा उपनिवेशवादी (साम्राज्यवादी) प्रवृत्ति कायम राखेको टड्कारो छ, यो वैदेशिक सहयोग शृंखलामा स्पष्ट देखिन्छ पनि। इतिहासका यी सत्यतथ्यमा उपयुक्त विचार नपु¥याउँदा भ्रष्टाचार निवारणका लागि विकसित अन्तर्राष्ट्रिय प्रयास, कार्यक्रम र सहयोग अधुरो हुन गएका यथार्थ सर्वविदित नै छ। इतिहासमा भएका यस्ता गल्तीका कारण उम्रिएका अनावश्यक झार उखेल्दै हरेकका लागि सन्तोषप्रद परिणाम दिने सहयोग सञ्जालको विकास गर्नुपर्छ।

नेपालमा भ्रष्टाचारको स्थिति, विगत र वर्तमानसहित तिनका विशेषताको विहंगम दृश्य डा. पाण्डेले परिच्छेद १० मा उतार्नुभएको छ। त्यसको शाब्दिक चित्रमा नेपाली इतिहास र यथार्थ खुल्छन्, विविध कालखण्डका शासकका स्वार्थपरक दृष्टिकोण, सत्तालिप्सा, शासनमोह उदांग हुन्छन्, त्याग र सेवा भावको शून्यताका खाडल देखिन्छन् र स्पष्ट हुन्छ— नेतृत्व तहको सामन्ती चरित्रको अटुट निरन्तरता। अनि तिनै कारणले नेपालमा भ्रष्टाचार बढ्न गएको बोध हुन्छ। राणाकाल, प्रजातन्त्रको प्रथम दशक, पञ्चायती व्यवस्थाको निर्दलीय, शाही प्रयोग, प्रथम जनआन्दोलन, बहुदलीय राजतन्त्रात्मक संसदीय प्रजातन्त्र, माओवादी सशस्त्र द्वन्द्व, शान्ति प्रयास, दोस्रो जनआन्दोलन, गणतन्त्र, संविधान सभाबाट संविधान निर्माण क्रममा सत्ता परिवर्तन भए पनि सामन्ती सोच, व्यवहार र भ्रष्टाचारी संस्कार कायम रहेको तथ्यको सूक्ष्म विश्लेषण पाइन्छ। नयाँ परिवर्तनमा देखिएका राजनीतिक नेता तथा सम्बद्ध अनुहारहरूले औपचारिक रुपमा सामन्ती सोच र सत्ताका दुरुपयोगलाई आलोचना गरे पनि व्यवहारमा हरेक परिवर्तनमा तिनै मूल्यले अनौपचारिक मान्यता र सम्मान पाएका एकएक दृष्टान्त डा. पाण्डेले पस्केका छन्।

परिच्छेदको अर्काे मार्मिक प्रसंग हो— उदार अर्थतन्त्रमा पारदर्शी जिम्मेवार शासनका लागि विश्वको मागअनुरूप भ्रष्टाचार नियन्त्रण गर्नुलाई सुगा रटाइसरह लिइएको तर त्यसले सार्वजनिक संसाधनलाई दलीय स्वार्थ तथा सत्तासीनका हितमा प्रयोग हुनबाट रोक्न नसकिएको यथार्थ। भ्रष्टाचार रोक्न, त्यसमाथि निगरानी राख्न स्थापित संस्था अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अदालतको निरीहता, अप्रभावकारिता स्पष्ट देखिन्छ। चुनौतीपूर्ण समयमा राजनीतिक उपलब्धि प्राप्त गर्न सफल राजनीतिक नेतृत्वले पनि परिवर्तनपछि शासनमा आवश्यक सुधार गरी सुशासन स्थापना गरेर पाउन सकिने सम्मान, इज्जत गुमाएकोमा लेखक दिक्क मान्छन्।

पुस्तकको भीमकाय आकारले यो सामान्य पाठकले पढ्ने सामग्री होइन, यो त बुज्रुग, विद्वान् अनुसन्धाता वा पुस्तकालय शोधकर्ता वा उच्च शिक्षाका छात्रछात्राले अध्ययन गर्ने शास्त्र हो जस्तो लाग्न सक्छ। छोटो, छिटो, छोयो, भयो (डन) को स्मार्ट संस्कारका पुस्ताका लागि यो महाभारत नै हुन पुगेको अनुभव होला। तर, पढ्न प्रारम्भ गर्ने धैर्य भएकाहरू केही पानामा नै स्पष्ट हुन्छन्— यो त सर्वसाधारणको निमित्त निर्मित खुराक हो, सदाचारभित्रको यात्रा हो, भ्रष्टाचारलाई बुझ्ने बाह्रखरी हो र भ्रष्टाचार प्रतिरोधलाई सार्थक बनाउने दिशातर्फकै सशक्त पाइला हो। शासनसँग सम्बद्ध सबै, नीति निर्णयको जिम्मा लिने तथा योजनाकार एवं समाजलाई दिगो स्वस्थ विकासले समृद्ध पारौं भन्नेका लागि पनि पुस्तकमा उपयुक्त परामर्श फेला पर्छ, ऊर्जा नै मिल्छ र सही बाटो लिन मद्दत पुग्छ। भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचारलाई सहन्न भन्ने उच्च कार्यकारिणी उद्घोषसहित सुरु भएको अहिलेको पहिलो गणतान्त्रिक संसदीय युगमा यो निकै नै सान्दर्भिक छ।

युवा पुस्तालाई विशेष सम्बोधन गर्दै डा. पाण्डेले एपिलोगमा गरेको आग्रह मार्मिक छ— भ्रष्टाचारविरोधमा सोच्न, बहस गर्न, कार्यक्रम तर्जुमा गर्न र नियन्त्रण निरोधका औजारलाई प्रयोग गर्न विश्व परिवेशको अनुभव, विगत वर्तमान अभ्यास राम्ररी नियाल्नोस् र तिनका राम्रा पाठ सिक्नोस् अनि आफ्नो परिवेश राम्ररी बुझ्नोस्। त्यसपछि समाजमा र शासन प्रक्रियामा रहेका सदाचार न्यूनता रोग निदान गर्न स्पष्ट नैतिकताका साथ उच्च मनोबल लिएर लाग्नोस्। यसबाट यहाँहरू आपूmभित्रको बौद्धिक, मानसिक, नैतिक ऊर्जाले समाजलाई भ्रष्टाचारमुक्त पार्ने दिशातिर उन्मुख हुनुहुन्छ, जुन भविष्यको नेपालका लागि अमूल्य उपहार साबित हुन सक्छ।

Source: http://annapurnapost.com/news/100107