काठमाडौं, १९ चैत्र

राष्ट्रिय पुनर्निर्माण परामर्श परिषद्को तेस्रो बैठक सम्माननीय प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार सम्पन्न भएको छ ।

बैठकलाई सम्बोधन गर्दै परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सदृश्य र मजबूद पुनर्निर्माणमा जोड दिनुभयो । पुनर्निर्माणलाई महाअभियानको रुपमा लैजानु पर्ने बताउनु हुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “म सदुश्य, मजबूद र आधुनिक पुनर्निर्माणको पक्षमा छु । नवीन र बलियो संरचना बनाउनेतिर ध्यान दिनु प¥यो ।”
प्रधानमन्त्री ओलीले पुनर्निर्माणमा धेरै समय अल्झिन नहुने भन्दै यसको गतिलाई तीव्रता दिन प्राधिकरणलाई निर्देशन दिनुभयो ।

उहाँले प्राधिकरण गठनअघि भूकम्प प्रभावितले बनाएको घरलाई ऐन, कानूनमा परिमार्जन गरेर भए पनि अनुदान दिनुपर्ने धारणा राख्नु हुँदै भूकम्प गएको तीन बर्षपछि मापदण्डको नाममा धेरै कसीकसाउ गर्न नहुने उल्लेख गर्नु भयो ।

पहिलादेखि बसोबास गरिआएका तर जग्गाधनी पूर्जा नभएका भूकम्प पीडितलाई पनि घर बनाउन अनुदान दिने व्यवस्था गर्न निर्देशन दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “अनुचित ढंगले बसेका होइनन् भने धनीपूर्जा नभए पनि अरु लाभग्राहीजस्तै उनीहरुलाई अनुदानको रकम उपलब्ध गराउनु पर्छ ।”

अघिल्लो पटक प्रधानमन्त्री हुँदा सुरु गरिएको ‘म बनाउँछु मेरो धरहरा’ अभियान पुनः सुरु गर्ने जानकारी दिँदै प्रधानमन्त्री ओलीले सिंहदरबार प्रबलीकरणको प्रगतिबारे जान्न आफू इच्छुक भएको पनि बताउनु भयो ।

परिषद्का अध्यक्षसमेत रहनु भएको प्रधानमन्त्री ओलीले भूकम्पबाट अति प्रभावित जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने संसद सदस्यहरु मध्येबाट समावेशी सिद्वान्तका आधारमा १४ जना सदस्य मनोनित गर्दै परिषद्लाई पूर्णता दिनु भएको छ । मनोनित सदस्यहरुमा सांसदहरु यज्ञराज सुनुवार(ओखलढुंगा) पार्वत गुरुङ (दोलखा) श्याम कुमार श्रेष्ठ (रामेछाप), अग्नि प्रसाद सापकोटा (सिन्धुपाल्चोक), गंगाबहादुर तामाङ (काभ्रेपलाञ्चोक) हुनुहुन्छ ।

त्यस्तै, हरिबोल गजुरेल (सिन्धुली), प्रेम सुवाल (भक्तपुर), गगन कुमार थापा (काठमाडौं), मोहन आचार्य (रसुवा), भूमी त्रिपाठी (धादिङ), हितबहादुर तामाङ (नुवाकोट), पम्फा भूसाल (ललितपुर), बिरोध खतिवडा (मकवानपुर) र हरिराज अधिकारी (गोरखा) मनोनित हुनु भएको छ ।

त्यसैगरी, पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, डा.बाबुराम भट्टराई, मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीसहित अन्य परिषद्का सदस्यहरुको सहभागिता थियो ।

बैठकमा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री राम बहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, अर्थमन्त्री डा.युवराज खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, स्वास्थ तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालको उपस्थिति थियो ।