बुधवार २९ फाल्गुण, २०७५ (Wednesday, 13th March 2019)

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भ्रष्टाचार विरुद्धको चित्रकला प्रदर्शनी आयोजना गरेको छ । आर्ट काउन्सिल बबरमहलमा २६ देखि २८ फागुन सम्म आयोजित प्रदर्शनीमा ललितकला क्याम्पसमा अध्ययनरत तथा ख्याती प्राप्त युवा कलाकार समेत गरि ६५ जना युवा कलाकारहरुले तयार गरेको चित्रकला राखिएको छ ।

प्रदर्शनीमा सहभागी ६५ युवा कलाकारहरुले बनाएको चित्रकलाहरु मध्येबाट उत्कृष्ट १२ चित्रहरु छनौट गरिएका छन् । उत्कृष्ट चित्रकला छनौट गर्नका लागि वरिष्ठ चित्रकार श्री गोविन्द डंगोल र टीआई नेपालका अध्यक्ष श्री खेमराज रेग्मी सम्मिलित छनौट टोली बनाइएको थियो । सो टोलीले पहिलो, दोस्रो र तेस्रो चित्रहरु छनौट गरेको छ ।

भ्रष्टाचारविरुद्धको उत्कृष्ट चित्र बनाई कलाकारहरु श्री उद्धवराज रिमाल पहिलो, श्री कृष्ण लामा दोस्रो र साजन ह्यङ्गजु तेस्रो हुन सफल भएका छन् । पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद सहित प्रमाणपत्र दिइएको छ । यसैगरी अन्य ९ जना कलाकारहरु अनिल महर्जन, निरज चित्रकार, लक्ष्मण भुसाल, सविन आचार्य, कमल श्रेष्ठ, विद्यामन तामाङ, रोजन खड्का, विवश राई, कृष्णादेवी महर्जनलाई सान्त्वना पुरस्कार स्वरुप प्रतिव्यक्ति २ हजार रुपैंया र प्रमाणपत्र दिइएको छ ।

चित्रकला प्रदर्शनीको संयोजन ललितकला क्याम्पसका उपप्राध्यापक जस्मिन राजभण्डारीले गरेका थिए । बबरमहलस्थित आर्ट काउन्सिलमा आयोजना गरिएको चित्रकला प्रदर्शनी उद्घाटन प्रमुख अतिथिका रुपमा ललितकला एकेडेमीका उपकुलपति के के कर्माचार्यले गरेका थिए ।

Rajdhani Daily