ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले २३ औं स्थापना दिवसको अवसर पारेर विभिन्न व्यक्त्विहरुलाई मानार्थ सदस्यता प्रदान गरेको छ । कार्यक्रम २०७५ भदौ ३ गते काठमाडौंमा आयोजना गरिएको थियो । टीआईका संस्थापक डा. देवेन्द्रराज पाण्डे, टीआई नेपालका पहिलो अध्यक्ष श्री अम्बिका श्रेष्ठ, संस्थापक सदस्य श्री दोमोदरप्रसाद गौतम, संस्थाका सदस्य एवं शिक्षा विद श्री केदारभक्त माथेमा र भ्रष्टाचारविरुद्धको अभियानमा निरन्तर घचघच्याइरहने वरिष्ठ सदस्य श्री कृष्णप्रसाद भण्डारीलाई संस्थाले मानार्थ सदस्यता प्रदान गरेको छ ।

स्थापना दिवसकै अवसरमा आयोजित कार्यक्रममा संस्थाको ५ वर्षे रणनीति र भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापना सम्बन्धी अध्ययन प्रतिवेदन पनि सार्वजनिक गरिएको छ ।

कार्यक्रममा अध्ययन सम्पन्न गर्ने प्रोजेक्ट रिसर्च एन्ड इन्जिनियरिङ एशोसिएट्सका संयोजक श्री राघव विष्टले अध्ययन प्रतिवेदनको निष्कर्ष र सुझाबहरु प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी प्राधिकरणका उपसचिव श्रीमनोहर घिमिरेले पुनर्निर्माण सम्बन्धी नीतिगत व्यवस्था, तिनको कार्यान्वयनको स्थिति, पुननिर्मार्णका क्षेत्रमा भएको प्रगति र चुनौति विषयक प्रस्तुति गर्नुभएको थियो । प्रस्तुति मूलतः पुननिर्माणसम्बन्धी नीतिगत व्यवस्था, पुनर्निर्माणको प्रति र चुनौती र पुननिर्माणका समस्या र अवसरहरुसमेत तीनवटा विषयमा केन्द्रित रहेको थियो ।

कार्यक्रमलाई माननीय महेन्द्र यादव र आशा विकले पनि सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा पुनर्निर्माण सम्बन्धी नीतिगत व्यवस्था, तिनको कार्यान्वयनको स्थिति, पुनर्निर्माणमा भएको प्रगति र चुनौतीजस्ता विषयमा विवेचना गरिएको सो कार्यक्रम टीआई नेपालका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो । त्यसैगरी महासचिव श्री पद्मिनी प्रधानाङ्गले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव श्री अर्जुन कार्की रहनुभएको थियो । कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, टीआई नेपालका सदस्यहरु, सञ्चारकर्मीहरु;समेत ७० जनाको उपस्थिति रहेका थियो ।