ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष श्री खेमराज रेग्मीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले प्रतिनिधिसभाका सम्माननीय सभामुख श्री कृष्णबहादुर महरालाई भेटेर ज्ञापन पत्र बुझाएको छ । सो ज्ञापनपत्रमा भनिएको छ– केही दिनयता माननीय सांसद, संसदीय समितिका सभापतिहरु, र माननीय मन्त्रीहरुसमेतलाई उल्लेख गरी काठमाडौंमा आफ्नो निजी घर हुँदाहुँदै पनि अनियमित र गैरकानूनीरुपमा घरभाडा लिने गरेको, स्वकीय सचिवलगायत समितिको सचिवालयका अन्य कर्मचारीसमेतको नियुक्ति नै नगरी निजको पारिश्रमिक, तथा अन्य सुविधा पनि आफ्नै खातामा जम्मा गर्ने÷गराउने गरेको, कानूनले पाउने भन्दा निकै नै बढी तीन–चारवटासम्म सवारी साधन प्रयोग गर्ने गरेको जस्ता सुन्दै र पढ्दै लज्जाबोध भई शिर निहुरिने प्रकृतिका समाचारहरु सञ्चारमाध्यममा निरन्तर र व्यापक रुपमा प्रकाशित र प्रसारित भइरहेका छन् ।’

यसैगरी ज्ञापनपत्रमा अगाडि भनिएको छ– फौजदारी मुद्दाका एकजना अभियुक्त राजनीतिकर्मी सांसद पदमा निर्वाचित हुन पुगेपछि निजलाई  प्रचलित संवैधानिक एवं कानूनी मान्यता प्रतिकूल सांसद पदको शपथ ग्रहण गराइएको घटनाले हामीलाई थप विस्मित र दुःखित तुल्याएको छ । राजनीतिक तुष्टीकरणको क्षणिक सत्ता स्वार्थका निम्ति गरिने यस्ता घटनाले विधिको शासनको ठाडो उल्लंघन हुन जाने र त्यसबाट संविधान, कानून र लोकतन्त्रप्रति नै जनताको आस्था क्षीण हुनजाने सम्भावनातर्फ सम्माननीय सभामुखको ध्यान पक्कै पनि जानुपर्छ भन्ने हामीलाई लागेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल संवैधानिक मूल्य–मान्यताको निःशर्त पालना, विधिको शासनको निरन्तर अवलम्वन र विवेक एवं सदाचारको सदासर्वदा अनुवर्तन बाटै देशमा लोकतन्त्र संस्थागत हुन्छ र भ्रष्टाचारमुक्त सुशासनयुक्त  एवम् समृद्ध समाजको परिकल्पना साकार हुन्छ भन्नेमा पूर्ण विश्वस्त भएको जानकारी गराउँदै सुशासन र सदाचारका पक्षमा सधैं निष्पक्ष एवं निर्भीक ढङ्गबाट आवाज उठाइरहनेछ भन्ने कुरातर्पm पनि महोदयको ध्यान आकर्षित गर्न चाहन्छौं ।

टीआई नेपालका अध्यक्षको नेतृत्वमा २०७५ माघ २ गते गएको सो प्रतिनिधि मण्डलमा उपाध्यक्ष श्री सबीता भण्डारी बराल, महासचिव श्री मुकुन्दबहादुर प्रधान,  कार्यसमिति सदस्यहरु क्रमशः श्री सुरेन्द्रवीर मालाकार, श्री कृष्ण ज्ञवाली, श्री आर्या श्रेष्ठ र श्री सीताराम अग्रहरी र वरिष्ठ अधिकृत श्री ठमनाथ घिमिरे रहनुभएको थियो ।

सभामुख कृष्णबहादुर महराले टीआई नेपालले उठाएका विषयप्रति मेरो ध्यान आकृष्ट भएको र यसमा निकट भविष्यमै अनुभूति हुने गरी क्रियाशील रहने प्रतिवद्धता जनाउनुभयो ।