ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालका अध्यक्ष श्री खेमराज रेग्मीको नेतृत्वमा रहेको कार्यसमितिका सदस्यहरुको प्रतिनिधि मण्डलले आज (२०७५ कात्तिक २९ गते) अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त श्री नवीनकुमार घिमिरे एवं अन्य माननीय आयुक्तज्यूहरु डा. गणेशराज जोशी, श्री राजनारायण पाठक र डा. सावित्री गुरुङसँग भेटघाट गरेको छ । उक्त अवसरमा आयोगका सचिव श्री महेश्वर न्यौपानेको पनि उपस्थिति रहेको थियो ।

सो भेटघाटका अवसरमा देशमा सदाचार प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रण सम्बन्धी समसामयिक विषयवस्तुहरुमा छलफल गरिएको थियो । भेटघाट मूलतः नीतिगत भ्रष्टाचार नियन्त्रण, आवश्यक कानूनी सुधार, अध्ययन अनुसन्धान, संयुक्त राष्ट्र संघीय भ्रष्टाचार विरोधी महासन्धी कार्यान्वयन, भ्रष्टाचार विरुद्धको दिवस, लक्ष्य तथा सहकार्य जस्ता विषयमा केन्द्रित रहेको थियो । त्यसक्रममा उल्लिखित विषयका बारेमा दुई संस्थाका धारणा आदान प्रदान गरिएको थियो ।

भेटघाटका लागि टीआई नेपालका तर्फबाट अध्यक्ष श्री खेमराज रेग्मीको नेतृत्वमा कार्यसमिति सदस्य श्री सुरेन्द्रबीर मालाकार, श्री बुद्धिनारायण श्रेष्ठ, श्री कृष्ण ज्ञवाली र कार्यकारी निर्देशक श्री आशिष थापाको सहभागिता रहेको थियो ।