३०. ०४. २०७६  

प्रेश विज्ञप्ति

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल भ्रष्टाचार विरुद्ध तथा सुशासनको पक्षमा निरन्तररुपमा लागिरहेको एउटा नागरिक संस्था हो ।

केही समययता विभिन्न विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिष्टारलगायतका उच्च पदाधिकारीहरूको नियुक्ति योग्यता कार्यक्षमता र इमान्दारिताका आधारमा नभई राजनीतिक आस्था र संलग्नताका आधारमा गरिन लागेको समाचार विभिन्न सञ्चारमाध्यममा आउन थालेको सम्बन्धमा यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ ।

विश्वविद्यालय, प्राज्ञिक कर्मको उच्चतम साधना केन्द्र हो । यसको नेतृत्व गर्ने पदाधिकारीहरूको चयन नितान्त प्राज्ञिक सक्षमता, नेतृत्वदायी कौशलता र सदाचारको मापदण्डबाट निर्देशित भएर गरिनु पर्दछ । यी पदाधिकारीहरूले वहन गर्ने बौद्धिक एवं प्राज्ञिक विषयगत एवं संस्थागत जिम्मेवारीका कारण लाखौँ विद्यार्थी, सोधार्थी, प्राध्यापक एवं अन्वेषकहरूका लागि स्वीकार्य, सम्मान्य, प्रेरक उदाहरणीय र अनुकरणीय व्यक्तित्व हुन सक्नुपर्दछ, अनिमात्र विश्वविद्यालयको गरिमा, मर्यादा, प्रतिष्ठित र पुनस्र्थापित हुन जान्छ ।

विश्वविद्यालय जस्ता विशुद्ध प्राज्ञिक संस्थाका उच्च पदाधिकारीको नियुक्ति राजनीतिक आस्था र भागवण्डाका आधारमा गरिने गलत र अस्वीकार्य परम्पराको वर्तमान शक्तिशाली सरकारबाट अन्त हुने अपेक्षा गरिएको थियो र अभैm पनि गरिएको छ । तर, नियुक्ति प्रक्रियाको स्वच्छता निष्पक्षता र विश्वसनीयताको बारेमा सरकारले प्राज्ञिकजगत् र अन्य सरोकारवालाहरूलाई चित्त बुझ्नेगरी ढुक्क बनाउन सकेको छैन ।

अतः विश्वविद्यालयका उपकुलपतिलगायतका पदाधिकारीहरूको नियुक्ति, राजनीतिक आग्रह, पूर्वाग्रहभन्दा माथि उठेर ‘सर्च कमिटी’ले स्वतन्त्र निष्पक्ष र इमान्दारीपूर्वक छनोट तथा सिफारिस गर्न सक्ने सहज र अनुकूल वातावरण सिर्जना गरिदिन नेपाल सरकारलगायत सम्बन्धित सरोकारवालाहरूको ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल ध्यानाकर्षण गराउन चाहन्छ ।

खेमराज रेग्मी
अध्यक्ष, टीआई नेपाल

Download PDF