ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको २५ औँ स्थापना दिवस
शुभकामना सन्देश
ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल आज (२०७७ भाद्र ३ गते) आफ्नो २५ औँ स्थापना दिवस मनाउँदैछ । यस अवसरमा यो संस्थाको स्थापनामा महत्वपूर्ण भूमिका खेल्नुहुने संस्थापक सदस्यज्यूहरूमा हार्दिक सम्मान व्यक्त गर्न चाहान्छौँ ।
 
आफ्ना विविध कार्यक्रमहरू तथा विभिन्न माध्यममार्फत भ्रष्टाचार नियन्त्रण र सुशासन अभिवृद्धिमा यस संस्थाले भ्रष्टाचार विरोधी संस्थाको रुपमा राष्ट्रिय पहिचान बनाएको छ । राष्ट्रिय जीवनमा महत्वपूर्ण क्षेत्रमा राष्ट्रिय पहिचान बनाएका प्रबुद्ध समाजसेवीहरूको स्वेच्छिक सहभागिता र सहयोगमा स्थापित र सञ्चालित यस संस्थाले मुलुकमा भइरहेका आर्थिक तथा प्रशासनिक अनियमितता र विसंगतिका विरुद्ध संगठित आवाज उठाई सरकार र सम्बन्धित निकायहरूको गम्भीर ध्यानाकर्षण गराउँदै आइरहेको छ । आउने दिनहरूमा पनि नागरिक समाज, सञ्चारमाध्यम तथा समाजका सचेतवर्गको सहयोग र सहभागितामा भ्रष्टाचार विरोधी अभियानलाई अझ सशक्तरुपमा अगाडि बढाउँदै लैजाने रणनीति बनाइएको छ ।
 
राजनीतिक नेतृत्वतहबाट गरिने नीतिगत भ्रष्टाचार नियन्त्रण गर्नु अहिलेको प्रमुख चुनौति हो । अपारदर्शीरुपमा राजनीतिक क्षेत्रबाट हुने आर्थिक कारोबारमाथि कानून निर्माण गरी नियमन गर्नु र कालो धनको स्रोतमै नियन्त्रण गर्न हरतरहका उपायहरू अवलम्बन गर्नुपर्ने अहिलेको प्राथमिक आवश्यकता हो ।
 
सरकार स्वयं र त्यसमा पनि सरकार प्रमुखको दृढ इच्छाशक्ति र संकल्पविना भ्रष्टाचार नियन्त्रण प्रायः असम्भव हुन्छ । साथै राजनीतिक इच्छाशक्तिको अभावमा भ्रष्टाचार विरोधी नियमनकारी निकायहरूको सक्रियता औपचारिकतामा सीमित रहन जान्छ ।
 
भ्रष्टाचार मानवता विरुद्धको गम्भीर अपराध हो । सबैको सामूहिक प्रयास र सहयोगमा मात्र यसको नियन्त्रण सम्भव छ । त्यसैले भ्रष्टाचार विरोधी अभियानमा संलग्न हुन सबै वर्ग र तप्काका नागरिकहरूलाई टीआई नेपाल हार्दिक अपिल गर्दछ । अन्त्यमा टीआई नेपालका पूर्व अध्यक्षज्यूहरू, पूर्व पदाधिकारीज्यूहरू, वर्तमान पदाधिकारीज्यूहरू लगायत सम्पूर्ण सदस्यहरू, सहयोगी कर्मचारीहरू र टीआई नेपालका शुभेच्छुक तथा आबद्ध संस्थाहरू एवं  सहयोगी मित्रहरूप्रति हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

मुकुन्द बहादुर प्रधान                       खेमराज रेग्मी
महासचिव                                    अध्यक्ष
 
ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल