काठमाडौं, मंसिर २३ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले डा. गौरी शङ्करलाल दासलाई राष्ट्रिय सदाचार सम्मान २०७५ द्वारा सम्मानित गरेको छ । टीआई नेपालले भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस डिसेम्बर ९ का दिन काठमाडौंमा आयोजना गरेको एक समारोहमा यो सम्मान दिइएको हो । समारोहमा विशेष वक्ताका रुपमा वरिष्ठ कलाकार श्री मदनकृष्ण श्रेष्ठ, प्रमुख अतिथिका रुपमा पूर्व सभामुख श्री दमननाथ ढुंगाना, र अन्य अतिथिहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, श्री नवीनकुमार घिमिरे,महालेखा परीक्षक श्री टङ्कमणि शर्माले मन्तव्य राख्नुभएको थियो ।

टीआई नेपालका महासचिव श्री मुकुन्दबहादुरले सहभागीलाई स्वागत गर्दै भ्रष्टाचारले विश्वका विभिन्न भागमा हुने विकास, शान्ति र सुरक्षालगायतका काम प्रभावित पारिरहेको बताउनुभयो । त्यसैगरी  पुरस्कार छनौट उपसमितिका संयोजक एवं पूर्व अध्यक्ष श्री भरतबहादुर थापाले सम्मानित व्यक्तित्व डा. गौरी शंकरलाल दासको व्यक्तित्वको परिचय दिनुभएको थियो । संस्थाका उपाध्यक्ष श्री सवीता भण्डारी बरालले राष्ट्रिय सदाचार सम्मान २०७५ मा उल्लेख गरिएका शब्दहरु वाचनगर्नुभएको थियो ।

डा. गौरी शंकरलाल दासलाई राष्ट्रिय सदाचार सम्मान २०७५ प्रमुख अतिथि श्री दमननाथ ढुंगाना र टीआई नेपालका अध्यक्ष श्री खेमराज रेग्मीले संयुक्त रुपमा प्रदान गर्नुभयो ।

विशेष मन्तव्य दिनुहुने वरिष्ठ कलाकार श्री मदनकृष्ण श्रेष्ठले आफू पार्किन्सस रोगबाट पीडित भएको र यो माथि टाउकोबाट सुरु हुन्छ भन्नुभयो । यो भ्रष्टाचार पनि पार्किन्सस जस्तै रहेछ माथिबाट तलसम्म फैलिएको बताउनुभयो । उहाँले सबैभन्दा बढी भ्रष्टाचार राजनीतिक दल, त्यसपछि कर्मचारी तन्त्र, आर्मी, पुलिस र शिक्षण संस्था आदिमा रहेछ भन्नुभयो । पूर्व उपकुलपति श्री केदारभक्त माथेमाले भ्रष्टाचार नियन्त्रण गर्छु भनेर मात्र हुँदैन नागरिकलाई अनुभूति गराउन पनि सक्नुपर्छ भन्नुभयो । नेपाली शिक्षाले फाउन्डेसनल विसडम दिन नसकिरहेको बताउनुभयो ।

महालेखा परीक्षक श्री टंकमणि शर्माले  कुनै कर्मचारीले भ्रष्टाचार ग¥यो भने त्यस कार्यालयका प्रमुखले जिम्मेवारी लिने, मन्त्रीले भ्रष्टाचार गरे प्रधानमन्त्रीले जिम्मेवारी लिने अवस्था सिर्जना गर्नुजरुरी रहेको बताउनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त श्री नवीनकुमार घिमिरेले भ्रष्टाचारसम्बन्धमा मौन रहनु झन् ठूलो भ्रष्टाचार हो भन्नुभयो ।

प्रमुख अतिथि श्री दमनाथ ढुंगानाले मानिसको सभ्यताको विकास आशाबाट हुन्छ, हामी कहाँ त्यस्तो आशा काहाँ छ खोजौं भन्नुभयो । नियन्त्रण गर्ने जिम्मेवारी पाएको आयोगले राजनीतिक नेतृत्वलाई कसरी समाउन सक्छ ? यो कठिन कुरो हो र यसो नगरी भ्रष्टाचार नियन्त्रण नहुने पनि बताउनुभयो ।

कार्यक्रमका सभापति एवं टीआई नेपालका अध्यक्ष श्री खेमराज रेग्मीले भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा आयोजना गरिएको कार्यक्रममा सदाचारी व्यक्तिको खोजी गरी सम्मानित गरेका छौं । सार्वजनिक जीवनमा रहेर काम गरिरहेका मानिसलाई आज सम्मानित हुनुहुने व्यक्तित्वको जस्तै अनुकरणीय सदाचारी व्यक्तित्व बन्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछु भन्नुभयो ।

कार्यक्रममा विभिन्न सरकारीगैरसरकारी क्षेत्रतह र तप्का एवं सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।