२०७६।०३।०५

प्रेस विज्ञप्ति

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.सँग भेटघाट गरेको छ ।

टीआई नेपालको प्रतिनिधि मण्डलले प्रधान न्यायाधीश जबरासँगको भेटका अवसरमा न्यायापालिकाको आधारस्तम्भ जनताको आस्था र विश्वास नै हो । तसर्थ न्यायापालिकाभित्र रहेका विकृति र विसङ्गतिका क्षेत्र र छिद्र पत्ता लगाई नियन्त्रणका लागि कठोर उपाय अवलम्बन गरियोस् भनी प्रधान न्यायाधीश जबराको ध्यानाकर्षण गरायो । साथै टीआई नेपालले न्यायपालिकाको गरिमा उच्च राख्ने, न्यायपालिकाको स्वाधीनताको रक्षा गर्ने, योग्य, निर्भीक तथा इमानदार न्यायाधीशहरुलाई प्रोत्साहन गर्न एवम् राजनीतिक आस्था र भागवण्डाका आधारमा न्यायाधीश नियुक्तिलाई निरुत्साहित गर्न समेत ध्यानाकर्षण गराएको छ ।

मुलुक भ्रष्टाचारबाट आक्रान्त रहेको र यसप्रति निर्मम ढंगबाट पेश हुन अनिवार्य भइसकेकोले भ्रष्टाचारका मुद्दाहरुलाई द्रुतगतिमा फछ्र्यौट गर्नुपर्ने आवश्यकताबारे पनि टोलीले प्रधान न्यायाधीश श्री जबराको ध्यानाकर्षण गरायो ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले न्यायापालिकाभित्र सदाचार प्रवद्र्धन गर्न भ्रष्टाचार न्यूनीकरण, विचौलियाहरुको नियन्त्रण, न्यायपालिकाको स्वाधीनता रक्षा, योग्य तथा इमानदार न्यायाधीशलाई प्रोत्साहन लगायतका विषयमा केन्द्रित रही तयार गरिएको ज्ञापनपत्र सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरासमक्ष प्रस्तुत गरेको छ ।

प्रत्युत्तरमा प्रधान न्यायाधीश जबराले ट्रान्सपरेन्सीका मार्मिक शब्दहरु हृदयदेखि नै लिन्छु भन्नुहुँदै भ्रष्टाचारबारे शून्य सहनशीलता अपनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले अदालतभित्र राम्रो काम गर्नेलाई प्रोत्साहित गरिने तथा ढिलासुस्ती गर्ने, बदनीयत राख्ने न्यायाधीशलाई कारबाही गरिने कुरा स्पष्ट पार्नुभयो ।

भ्रष्टाचार सम्बन्धमा मुछिएका न्यायाधीशहरुमाथि गरिएको कारबाहीको चर्चा गर्दै उहाँले भ्रष्टाचारसम्बन्धी मुद्दा हप्ताको एक अथवा दुई पटक हेरिने विश्वास पनि टीआई नेपालको टोलीलाई दिलाउनुभयो ।

भ्रष्टाचार सम्बन्धी मुद्दाको अनुसन्धानमा धेरै गम्भीरता अपनाउन जरुरी रहेको अनुभव साट्दै प्रधान न्यायाधीश जबराले नीतिगत आधारमा हुने भ्रष्टाचारमाथि ध्यान पु¥याउनु पर्ने समय आइसकेको खाँचो समेत औंल्याउनुभयो ।

टीआई नेपालको प्रतिनिधिमण्डलमा अध्यक्ष खेमराज रेग्मी लगायत उपाध्यक्ष सविता भण्डारी बराल, महासचिव मुकुन्द बहादुर प्रधान, कोषाध्यक्ष किरण थापा, कार्यसमिति सदस्य सुरेन्द्रवीर मालाकार, बुद्धिनारायण श्रेष्ठ, कृष्ण ज्ञवाली, आर्या श्रेष्ठ र सीताराम अग्रहरी, कार्यकारी निर्देशक आशिष थापा, वरिष्ठ अधिकृत ठमनाथ घिमिरे रहनुभएको थियो ।

टीआई नेपालले प्रधान न्यायाधीश जबरासमक्ष प्रस्तुत गरेको ज्ञापनपत्र यसैविज्ञप्तिसाथ संलग्न गरिएको छ ।

खेमराज रेग्मी
अध्यक्ष

View PDF