२०७५ मंसिर १६
प्रेस विज्ञप्ति
सैनिक नेतृत्वको सकारात्मक पहल
गौरवमय इतिहास बोकेको नेपाली सेनाको छविलाई थप उजिल्याउन र यसभित्र देखिएका केही विकृति–विसङ्गतिहरुलाई नियन्त्रण गर्न वर्तमान प्रधानसेनापतिज्यूबाट देखाइएको सक्रियता सराहनीय छ ।
सैनिक भर्नाका क्रममा भएका अनियमिततामा संलग्न सैनिक अधिकृतहरुसहित अन्य दोषीहरुलाई सैनिक अदालतमार्फत सेवाबाट बर्खास्त एवं ६ वर्षसम्म कैदसजाय गरिनु, मापदण्डविपरीत भर्ना गरिएका एक सय जना भन्दा बढी सैनिकहरुलाई बर्खास्त गरिनु, त्यसक्रममा तीनकरोड रुपैयाँ भन्दा बढी लेनदेन भएको घुसको रकम फिर्ता गरी राजस्वमा दाखिला गरिनुजस्ता समाचारले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालजस्तो भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन कायम राख्ने अभियानमा निरन्तर संलग्न संस्थालाई सन्तोष लागेको छ ।
सुरक्षाको दृष्टिले अति संवेदनशील मानिएको आर्मी अफिसर्स क्लबमा सञ्चालित क्याटरिङ सर्वसाधारणलाई उपभोग गर्न दिने कार्यमा बन्देज लगाउनु, सेनाभित्रै विभिन्न तहबीचमा देखिने भेदभावजन्य व्यवहारलाई सामान्यीकरण गरिनु, सेनालाई अझ बढी व्यवावसायिक रुपमा दक्ष बनाउन प्रयत्नशील रहनु जस्ता कार्यहरु सुशासनतर्फका सकारात्मक पहल हुन् भन्ने हाम्रो बुझाइ छ ।
नेपाली सेनालाई पारदर्शी र सुशासनयुक्त संस्थाका रुपमा अघिबढाउन वर्तमान नेतृत्वबाट देखाइएको सकारात्मक र सक्रिय पहलको प्रशंसा गर्दै यसले निरन्तरता पाउने विश्वास पनि टीआई नेपालले राखेको छ ।
खेमराज रेग्मी
अध्यक्ष