ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल
 
२०७६/४/६
 
प्रेश विज्ञप्ती
 

वालुवाटारको सरकारी जग्गा हिनामिना सम्बन्धि प्रकरण

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल भ्रष्टाचारका बिरुद्ध निरन्तर आवाज उठाइरहने नागरिक संस्था हो । 


प्रधानमंंत्री निवास बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा बेचबिखन गरी हिनामिना गरेको सन्दर्भमा पूर्व सचिव श्री शारदा प्रसाद त्रिताल प्रतिवेदनले आंैल्याएका व्यक्तिहरु उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो समेतले गहन अनुसन्धान गरिरहेको बिषय प्रति यस संस्थाको गम्भिर ध्यानाकर्षण भएको छ । 

यसै सन्दर्भमा सो सरकारी जग्गा व्यक्तिका नाममा हक हस्तान्तरण हुने गरि अनियमित तथा गैर कानुनी निर्णय गर्न गराउन कतिपय जिम्मेवार कर्मचारीहरु सहित पूर्व प्रधानमन्त्री तथा मन्त्रीहरु समेतको प्रत्यक्ष संलग्नता रहेको बिषय विभिन्न सञ्चार माध्यमहरुमा आईरहेको हुँदा यस बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगवाट स्वतन्त्र, निष्पक्ष र निर्भिकता पूर्वक अनुसन्धान कार्य सम्पन्न गरि दोषीहरुलाई कानूनी कारबाहीको कठघरामा उभ्याइनु पर्दछ भन्ने हाम्रो प्रबल धारणा छ । 

प्राय सबै ठुला अनियमितता एवं भ्रष्टाचारका काण्डहरु राजनैतिक नेतृत्वको संलग्नता विना कर्मचारीहरुको चाहनाले मात्र हुन प्राय असम्भव छ । भ्रष्टाचारका घटनाहरुमा प्राय कर्मचारीहरु माथी दोष थोपरेर राजनैतिक नेतृत्व सधै उम्कने बिडम्बनापूर्ण स्थिति हाम्रो मुलूकमा छ । बिभिन्न अध्ययन तथा अनुसन्धानबाट राजनैतिक पक्षनै भ्रष्टाचारको मूल कारक हो भन्ने प्राप्त निष्कर्षलाई हामीले आत्मसात गर्दै राजनैतिक नेतृत्वबाट हुने भ्रष्टाचार नियन्त्रणका लागि सम्बन्धित सबै पक्ष थप कठोर हुनु अनिवार्य छ । 

अतः बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न राजनैतिक पदाधिकारी लगायत सबै व्यक्तिहरु जो जतिसुकै शक्तीसाली हुन कानूनी कारवाही वाट उन्मुक्ति नपाउने व्यवस्था हुन सम्बन्धित सबैमा जोडदार माग गर्दछौं ।

खेमराज रेग्मी
अध्यक्ष

Download PDF