ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालका अध्यक्ष खेमराज रेग्मीको नेतृत्वमा गएको टोलीले आज नेपाल रिपब्लिक मेडिया प्रा.लि.का प्रबन्ध निर्देशक एवं नागरिक दैनिक र रिपब्लिका दैनिकका सम्पादकहरुसँग भेटघाट गरेको छ । टीआईले भ्रष्टाचारविरुद्धको अभियानमा सहकार्य गर्ने उद्देश्यले सञ्चार माध्यमका सम्पादकहरुसँग भेटघाट थालेको हो ।
भेटघाटका अवसरमा नेपाल रिपब्लिक मेडिया प्रा.लि.का प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली, नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेल, रिपब्लिका डेलीका सम्पादक सुवास घिमिरे, समाचार सम्पादक तिलक पाठक, टपेन्द्र कार्की, सिद्धराज राई, सुनिल सापकोटाको उपस्थिति रहेको थियो ।

टीआई नेपालका अध्यक्ष खेमराज रेग्मीले देशमा भ्रष्टाचार बढ्दो अवस्थामा भएकाले स्थिति दयनीय छ, यस्तो बेला मिडियाको भूमिका सशक्त बनाउन सके मुलुकले सही मार्ग पहिल्याउन सक्छ । सबै जागरुक नभए लोकतन्त्र नै खतरामा पर्न सक्ने भएकाले नागरिक समाज र सञ्चार माध्यमले सहकार्य गर्नु अहिलेको आवश्यकता भएको छ । सरकारको स्वेच्छाचारिता बढ्दै गए प्रजातान्त्रिक मूल्य मान्यता भत्किने छन्, गलत प्रवृत्तिविरुद्ध सामूहिक रुपमा काम गरौं ।
भेटघाटका क्रममा प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीले भन्नुभयो– मुलुकमा नीतिगत र संस्थागत भ्रष्टाचार बढिरहेको छ र यसले प्रवृत्तिकै रुप लिइरहेको अवस्था छ । सञ्चारमाध्यमले आवाज उठाउँदा पनि सरकारले सुनिरहेको छैन ।

नागरिकका सम्पादक गुणराज लुइँटेलले नयाँ इस्यु आएका बेला अन्तरक्रिया गरौं । प्रजातन्ले व्यक्ति होइन संस्था बलियो बनाउनुपर्छ तर हामी कहाँ त्यस्तो नभएको बताउनुभयो ।

रिपब्लिका डेलीका सम्पादक सुवास घिमिरेले भ्रष्टाचारविरुद्धको अनुसन्धानमा सहकार्य गरौं । सुशासन क्षेत्रका विज्ञहरु आएका बेला सञ्चारकर्मीहरुसँग भेटघाट गर्ने अवसर सिर्जना गरौं भन्नुभयो ।
समाचार सम्पादक तिलक पाठकले मिडिया हाउसको मात्र प्रयास प¥याप्त भएन, सामूहिक रुपमै काम गरौं । नीतिगत तहमा र विषयक्षेत्रमा केन्द्रित अनुसन्धान गरेर जानकारी प्रवाह गर्न प्रभावकारी हुन्छ ।

भेटघाटका अवसरमा उपाध्यक्ष सवीता भण्डारी बराल, महासचिव मुकुन्दबहादुर प्रधान, कार्यसमिति सदस्य सीताराम अग्रहरी र आर्या श्रेष्ठ, कार्यकारी निर्देशक आशिष थापा, वरिष्ठ अधिकृत टी एन घिमिरेको पनि सहभागिता रहेको थियो ।