ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष श्री खेमराज रेग्मीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले प्रतिनिधिसभाका सम्माननीय सभामुख श्री कृष्णबहादुर महरालाई भेटेर ज्ञापन पत्र बुझाएको छ । सोही ज्ञापनपत्र सञ्चार माध्यमको जानकारी एवं प्रचारप्रसार कार्यमा सहयोगको अपेक्षाराखी पठाइएको बेहोरा अनुरोध छ ।

– टीआई नेपालकाे सचिवालय

२०७५।१०।०२

सम्माननीय सभामुख श्री कृष्णबहादुर महराज्यू,

प्रतिनिधिसभा,

संसद सचिवालय, काठमाडौं ।

विषयः ज्ञापन पत्र ।

महोेदय,

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन अभियानमा निरन्तर क्रियाशील नागरिक संस्था हो ।

नेपाली जनताको दशकौंदेखिको अथक संघर्ष र अप्रतिम बलिदानको फलस्वरुप संविधानसभाबाट जारी नेपालको संविधान २०७२ बमोजिम प्रतिनिधिसभाको सभामुखजस्तो गरिमामय पदको जिम्मेवारी सम्हाल्नु भएकोमा हामी यहाँप्रति बधाइ तथा शुभकामना व्यक्त गर्दछौं ।

यस अवसरमा संविधानको अक्षर, मर्म र भावनाअनुकूल तथा नेपाली जनताको अपेक्षाअनुरुप देशमा लोकतान्त्रिक संसदीय मूल्य र मान्यताको विकास तथा संस्थागतीकरणमा यहाँको भूमिका सार्थक र सारभूत रहोस् भनी सफलताको कामना समेत प्रकट गर्दछौं ।

सम्माननीय सभामुखज्यू,

नेपाल राजनीतिक दृष्टिले लामो संघर्ष र अनेकौं आरोह–अवरोह पश्चात् संविधानको क्रमिक कार्यान्वयनसँगै एउटा सुस्थिर राजनीतिक गन्तव्यतर्फ लम्किँदैछ । तर यो यात्रालाई सहज र सफल बनाउनका लागि यात्राका सबै पथिकहरु अर्थात् राजनीतिक नेतृत्व, सार्वजनिक सेवाका पदाधिकारीहरु, निजीक्षेत्र र नागरिक समाजमा सदाचार स्वाभिमान र आत्मसम्मानको भावना र आचरण प्रचूर मात्रामा हुनु आवश्यक छ । त्यसमा पनि शक्ति, अधिकार, जिम्मेवारी र जवाफदेहीका दृष्टिले ‘मुहान’ का रुपमा रहेको राजनीतिक नेतृत्व र सार्वजनिक पदाधिकारीको भूमिका त यस सन्दर्भमा अझ निर्णायक छ ।

आदरणीय सभामुखज्यू

केही दिनयता माननीय सांसद, संसदीय समितिका सभापतिहरु, र माननीय मन्त्रीहरुसमेतलाई उल्लेख गरी काठमाडौंमा आफ्नो निजी घर हुँदाहुँदै पनि अनियमित र गैरकानूनीरुपमा घरभाडा लिने गरेको, स्वकीय सचिवलगायत समितिको सचिवालयका अन्य कर्मचारीसमेतको नियुक्ति नै नगरी निजको पारिश्रमिक, तथा अन्य सुविधा पनि आफ्नै खातामा जम्मा गर्ने÷गराउने गरेको, कानूनले पाउने भन्दा निकै नै बढी तीन–चारवटासम्म सवारी साधन प्रयोग गर्ने गरेको जस्ता सुन्दै र पढ्दै लज्जाबोध भई शिर निहुरिने प्रकृतिका समाचारहरु सञ्चारमाध्यममा निरन्तर र व्यापक रुपमा प्रकाशित र प्रसारित भइरहेका छन् । समाचार प्रकाशमा आएपछि केही माननीय सांसदहरुले आत्मालोचना र क्षमायाचनासहित त्यस्तो अनियमित सुविधा राज्यकोषमा फिर्ता गर्नुभएको समाचारले पनि सो अवाञ्छित घटनाको सत्यतालाई पुष्टि गर्छ । यद्यपि यसैबीच केही प्राविधिक र कानूनी अस्पष्टता एवं अपर्याप्तता तथा व्यावहारिक परिस्थितिका कारण त्यस्तो हुन गएकोतर्फ सङ्केत गर्दै संसद सचिवालयबाट निकालिएको विज्ञप्तितर्फ पनि हाम्रो ध्यानाकर्षण नभएको होइन । तर पनि देशको मूल कानून संविधानसमेत निर्माण गरी त्यसको कार्यान्वयनका निमित्त कानूनहरु बनाउने भूमिकामा आसीन जननिर्वाचित वा जनताका प्रतिनिधि सांसदहरु आफैंले कानूनविपरीत र अझ विवेक र सदाचार विपरीत त्यस्तो सुविधाहरु लिने कार्यमा प्रवृत्त हुनु आफैंमा अत्यन्त अशोभनीय हो भन्ने कुरामा सभामुखज्यू पनि पक्कै सहमत हुनुहुन्छ । साथै, यसैबीच, फौजदारी मुद्दाका एकजना अभियुक्त राजनीतिकर्मी सांसद पदमा निर्वाचित हुन पुगेपछि निजलाई  प्रचलित संवैधानिक एवं कानूनी मान्यता प्रतिकूल सांसद पदको शपथ ग्रहण गराइएको घटनाले हामीलाई थप विस्मित र दुःखित तुल्याएको छ । राजनीतिक तुष्टीकरणको क्षणिक सत्ता स्वार्थका निम्ति गरिने यस्ता घटनाले विधिको शासनको ठाडो उल्लंघन हुन जाने र त्यसबाट संविधान, कानून र लोकतन्त्रप्रति नै जनताको आस्था क्षीण हुनजाने सम्भावनातर्फ सम्माननीय सभामुखको ध्यान पक्कै पनि जानुपर्छ भन्ने हामीलाई लागेको छ ।

अन्तमा, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल संवैधानिक मूल्य–मान्यताको निःशर्त पालना, विधिको शासनको निरन्तर अवलम्वन र विवेक एवं सदाचारको सदासर्वदा अनुवत्र्तनबाटै देशमा लोकतन्त्र संस्थागत हुन्छ र भ्रष्टाचारमुक्त सुशासनयुक्त  एवम् समृद्ध समाजको परिकल्पना साकार हुन्छ भन्नेमा पूर्ण विश्वस्त भएको जानकारी गराउँदै सुशासन र सदाचारका पक्षमा सधैं निष्पक्ष एवं निर्भीक ढङ्गबाट आवाज उठाइरहनेछ भन्ने कुरातर्पm पनि महोदयको ध्यान आकर्षित गर्न चाहन्छौं ।

निरन्तर सहयोग र सद्भावको अपेक्षासहित,

खेमराज रेग्मी
अध्यक्ष

Download PDF