२०७४।०६।२६
 
प्रेस विज्ञप्ति
 
स्वच्छ छवि भएका उमेदवारलाई मत
 
२०७२ सालको लोकतान्त्रिक संविधान बमोजिम पहिलोपटक २०७४ साल मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने भएको छ । प्रदेश र प्रतिनिधिसभाको सदस्यको निर्वाचन हुने वातावरण सिर्जना हुनुलाई ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले सुखद् पक्षका रुपमा बुझेको छ । 
 
निर्वाचनका माध्यमबाट लामो समयदखि मुलुकमा विद्यमान राजनीतिक सङ्क्रमणकालको अन्त्य हुनेछ । त्यस्तै देशमा राजनीतिक स्थिरता कायम भई सुशासन अभिवृद्धि हुने र विकास निर्माणका कामले गति लिने अपेक्षा सम्पूर्ण नेपालीले राखेका छन् । 
 
प्रदेशसभा र प्रतितिनिधिसभाका लागि हुने यस निर्वाचनबाट पाँच वर्षका लागि जनताका सेवकका रुपमा जनप्रतिनिधिहरु छानिनेछन् । त्यसैले राजनीतिक दलहरुले उमेद्वार प्रस्तुत गर्दा असल, चरित्रवान समाजसेवी व्यक्तिहरुलाई आफ्ना पार्टीका प्रतिनिधिका रुपमा उमेद्वार चयन गर्न हामी सबै राजनीतिक दलहरुलाई आग्रह गर्दछौं । साथै मतदाताहरुले पनि आफूलाई सेवा दिने प्रतिनिधिहरु छान्दा निष्कलङ्क र असल चरित्र भएका समाजसेवी पृष्ठभूमिका उमेदवारलाई मतदान गरेका खण्डमा लोकतन्त्रको संस्थागत विकास भई भ्रष्टाचार नियन्त्रण हुनुका साथै पारदर्शिता र सुशासन प्राप्त गर्ने संभावना रहन्छ । जस्तो रोप्यो त्यस्तै फल प्राप्त हुने तथ्य मनन् गर्दै राजनीतिक दलहरुले असल व्यक्तिलाई उमेद्वार बनाउन र मतदाताहरुले सोच विचार गरी लामोसमयपछि आएको अवसरलाई सदुपयोग गर्न र स्वच्छ छवि भएका उमेदवारलाई मतदान गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल सम्पूर्ण मतदाता समक्ष हार्दिक अपिल गर्दछ । 
 
श्रीहरि अर्याल
अध्यक्ष