२०७४।०७।०८
प्रेस विज्ञप्ति
नेपालको नवनिर्मित संविधान बमोजिम पहिलोपटक २०७४ साल मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन दुई चरणमा सम्पन्न हुने प्रक्रिया अघि बढिरहेको छ । यस परिप्रेक्ष्यमा निर्वाचनमा सहभागी हुने सम्पूर्ण राजनीतिक दलहरुले आगामी ५ वर्ष सम्मको आआफ्ना दलका मुख्य नीति र कार्यक्रम समेटेर निर्वाचन घोषणापत्र जारी गर्ने क्रममा छन् । यस सम्बन्धमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको ध्यान आकृष्ट भएको छ ।
नेपालका राजनीतिक दलहहरुले निर्वाचन घोषणा पत्र तयार गरिरहँदा सदाचार प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रण सम्बन्धमा केन्द्रित निम्न सुझाबहरुलाई गम्भीरतापूर्वक लिइदिन सबै राजनीतिक दलसामु टीआई नेपाल हार्दिक आह्वान गर्दछ ।
– निर्वाचन खर्च पूर्ण रुपमा पारदर्शी बनाउन र निर्वाचन आचार संहिता उलंघन नगर्न प्रतिवद्ध रहने,
– सम्पूर्ण निर्वाचित पदाधिकारीहरु मुलुकमा सुशासन प्रवद्र्धन गर्न कटिवद्ध रहने,
– संघीय संरचनामा भ्रष्टाचार नियन्त्रण गर्ने कार्य प्रभावकारी बनाउन आवश्यक कदम चाल्ने,
– भ्रष्टहरुविरुद्धको कानूनी कारबाही सशक्त बनाउन आवश्यक सबै उपाय अपनाउने,
– राजनीतिमा अपराधीकरण, भ्रष्टाचार अन्त्य गर्न प्रतिवद्ध रहने,
– भ्रष्टाचारविरुद्धको राष्ट्रिय नीति तथा कार्यक्रम तयार गरी लागू गर्ने,
– भ्रष्टाचारविरुद्ध कार्य गर्न अधिकारप्राप्त निकायहरुका क्रियाकलापहरुको मूल्यांकन गरी प्रभावकारी बनाउने,
– निजामती सेवा पेशागत रुपमा तटस्थ बनाइ सार्वजनिक सेवा प्रवाह चुस्त बनाउन प्रतिवद्ध रहने,
– सरकारी काम कारबाही थप पारदर्शी र जवाफदेही बनाउन अधिकार प्राप्त निकायलाई क्रियाशील बनाउने,
– समाजमा नैतिकता र चरित्र निर्माणको पक्षलाई सबल बनाउन आवश्यक वातावरण तयार गर्ने,
– प्रत्येक राजनीतिक दलमा आन्तरिक लोकतन्त्र प्रभावकारी बनाउन प्रतिवद्ध रहने,
– न्यायाधीशको स्वतन्त्र नियुक्तिका सम्बन्धमा थप प्रभावकारी संयन्त्र निर्माण गरी न्यायपालिकालाई सक्षम बनाउने,
टीआई नेपाल सबै राजनीतिक दलहरुलाई आआफ्ना चुनावी घोषणा पत्रमा उल्लिखित बुँदाहरु समामेश गर्न हार्दिक आह्वान गर्दछ ।
श्रीहरि अर्याल
अध्यक्ष