२०७४।१।२४

प्रेस विज्ञप्ति

स्वच्छ छवि भएका उमेदवारलाई मत

आगामी वैशाख ३१ गते स्थानीय तहमा पहिलो चरणको निर्वाचन हुने भएको छ । स्थानीय तहमा लामो समयदेखि हुन नसकेको निर्वाचन हुने वातावरण सिर्जना हुनुलाई ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले सुखद् पक्षका रुपमा बुझेको छ ।

यो नयाँ संविधानअनुसार विधायिकी, न्यायिक र कार्यकारी अधिकारसहितको स्थानीय सरकार गठन गर्ने निर्वाचन पनि हो  । यस निर्वाचनले नागरिकलाई आफू नजिकको सरकार छान्ने अवसर उपलब्ध गराउनेछ ।

निर्वाचनका माध्यमबाट छनौट हुने स्थानीय तहका प्रतिनिधिले प्रदेश र केन्द्रसँग समन्वय गरेर स्थानीय सरकार सञ्चालन गर्नुपर्ने हुन्छ । साथै देशभरि बनाइएका ७ सय ४४ स्थानीय निकायले सेवा प्रवाह र सुशासन कायम गर्ने महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने त छँदैछ । यसले सार्वजनिक सेवामा अहिले रहेको ढिलासुस्ती हटाई जवाफदेही र पारदर्शी ढङ्गले आफ्ना कार्यव्यवहार सम्पन्न गर्ने विश्वास पनि हामीले गरेका छौं ।

स्थानीय तहका लागि हुने यस निर्वाचनबाट पाँच वर्षका लागि जनताका सेवकका रुपमा जनप्रतिनिधिहरु छानिनेछन् । त्यसैले आफूलाई सेवा दिने प्रतिनिधिहरु छान्दा निष्कलङ्क र असल चरित्र भएका समाजसेवी पृष्ठभूमिका उमेदवारलाई मतदान गरेका खण्डमा लोकतन्त्रको संस्थागत विकास भई भ्रष्टाचार नियन्त्रण हुनुका साथै पारदर्शिता र सुशासन प्राप्त गर्ने संभावना रहन्छ । जस्तो रोप्यो त्यस्तै फल प्राप्त हुने तथ्य मनन् गर्दै तमाम मतदाताहरुलाई सोच विचार गरी लामोसमयपछि आएको अवसरलाई सदुपयोग गर्न र स्वच्छ छवि भएका उमेदवारलाई मतदान गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल सम्पूर्ण मतदाता समक्ष हार्दिक अपिल गर्दछ ।

श्रीहरि अर्याल
अध्यक्ष

Download Press Release on Local Election