प्रेस विज्ञप्ति

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने अभियानमा निरन्तर लागिरहेको नागरिक संस्था हो ।

नेपाल सरकारले भ्रष्टाचारमा शून्य शहनशीलताको नीति अपनाउने र भ्रष्टाचार नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुने घोषणा गरिरहेकै अवस्थामा भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक जना आयुक्तमाथि नै भ्रष्टाचारको अभियोग लाग्नु र भ्रष्टाचार गरेकोमा लाग्ने महाभियोग तथा हुनसक्ने दण्डसजायबाट छुटकारा पाउन सकिन्छ कि भन्ने ध्येयले तत्काल राजीनामा दिएको घटनाप्रति टीआई नेपालको ध्यान आकर्षित भएको छ ।

भ्रष्टाचार र अनियमितताकै कारण मुलुकमा सुशासन र आर्थिक उन्नति आशातीत रुपमा हुन नसकेको आम नागरिकको बुझाइ रहेकै अवस्थामा नियमनकारी निकायकै जिम्मेवार पदाधिकारी स्वयं घुस लेनदेनको अभियोगमा आरोपित हुनु मुलुककै लागि एउटा अत्यन्त लज्जास्पद र चुनौतीपूर्ण अवस्था पनि हो । केही समय यता आएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रणमा देखाएको सक्रियताबाट आयोगप्रति सर्वसाधारणले बनाएको सकारात्मक धारणा र प्रधानमन्त्रीज्यूले सुशासनप्रति बारम्बार गरेको प्रतिवद्धता मिथ्या थिएनन् भनी प्रमाणित गर्न पनि राज्यले भ्रष्टाचारीहरुमाथि थप कठोर हुनु अनिवार्य छ ।

भक्तपुर जिल्लास्थित नेपाल इन्जिनियरिङ कलेजसम्बन्धी विवाद मिलाइदिने शर्तमा सरोकारवालाहरुसँग पटकपटक गरी अठहत्तर लाख रुपैयाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्काीन आयुक्त राजनारायण पाठकले घुस लिएको भन्ने बेहोराको भिडियो समेतका सामग्रीहरु विभिन्न सञ्चार माध्यममा आएकाले निजलाई कानूनबमोजिम हदैसम्मको दण्डसजाय हुने गरी आवश्यक अनुसन्धान एवं कारबाही प्रक्रिया तुरुन्त अगाडि बढाइयोस् भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग टीआई नेपाल जोडदार माग गर्दछ ।

सरकारको साख र कानूनी शासनप्रति विश्वास कायम राख्न, अपराध गरेबापत तल्ला तह र तप्काका मानिसहरु मात्र दण्डित हुन्छन्, ठूलो तहका अपराधीहरु यात उम्किन्छन् वा उम्काइन्छन् भन्ने मान्यतालाई भत्काउन र दण्डहीनताको संस्कृति समाप्त गरी समन्यायको वातावरण सिर्जना गर्न पनि सम्पूर्ण राज्य व्यवस्था सक्रिय र चनाखो रहोस् भनी टीआई नेपाल सम्बद्ध पक्षको ध्यान आकृष्ट गराउँदछ ।

खेमराज रेग्मी
अध्यक्ष