ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष श्रीहरि अर्यालले लाभकरका सम्बन्धमा माननीय अर्थमन्त्री श्री कृष्णबहादुर महराज्यूलाई पठाउनुभएको पत्र सार्वजनिक सञ्चारमाध्यमको जानकारी एवं प्रकाशन तथा प्रशारणका लागि पठाइएको बेहोरा अनुरोध छ ।

————————————–

प्रेस सामग्री

 लाभकर बारे सरकारी धारणा सार्वजनिक होस्

२०७३।१२।०२ विगत केही समयदेखि एनसेल प्रा.लि.को शेयर खरिदबिक्री भएको विषयसँग सम्बन्धित लाभकरबारे विभिन्न सरकारी नियमनकारी निकाय, कम्पनी सञ्चालक, सरोकारवाला र आम नागरिकका टीकाटिप्पणी सञ्चार माध्यममार्फत सार्वजनिक भइरहेको तर्फ ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको ध्यानाकर्षण भएको छ । यससम्बन्धमा टीआई नेपालले मिति २०७३ बैशाख ३१ गते एक विज्ञप्ति जारी गरी आफ्नो धारणा सार्वजनिक गरिसकेको छ । मुलुकको कानून अनुसार लाग्ने कर कुनै पनि बहानामा छल्ने वा त्यसका लागि सहयोग गर्ने, कम गर्ने वा नतिर्ने गर्नुगराउनु हुँदैन भन्ने मान्यतामा हामी अद्यापि अडिग छौं ।

एनसेलको तत्कालीन सञ्चालक टेलिसोनेरियाद्वारा आफ्नो शेयर बिक्री गरेबापत बुझाउनु पर्ने लाभकरका विषयमा नेपाल सरकारको मन्त्रिपरिषद्मा ठाडो प्रस्ताव लगिएको, महालेखापरीक्षकको कार्यालयले पूँजीगत लाभ कर असुल नगरे बेरुजु कायम गरिदिने बताएको, संसदीय समितिले कर तिराउन निर्देशन जारी गरेको, सम्बन्धित कर कार्यालयले कानूनबमोजिम टुङ्गो लगाउन सक्ने यो विषय दल र सरकार तहमा छलफल हुने गरेको, आसन्न निर्वाचनमा नीतिगत निर्णय गरी लाभ लिन केही पक्ष लागि परेको, टेलिसोनेरिया कम्पनीले नेपालमा कर तिर्नु नपर्ने भन्ने धारणा सार्वजनिक गर्दा पनि अनुगमनकारी र सम्बद्ध निकाय (कर कार्यालय) बाट यस विषयलाई स्पष्ट रुपमा टुङ्गो लगाउने प्रयाससमेत नभएको कुरा सञ्चारमाध्यमले सार्वजनिक गरिहेका छन् ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको रोहबरमै कानूनबमोजिम काम गर्ने, कर तिर्ने जस्ता विषयमा सार्वजनिक प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेको एनसेलका तत्कालीन सञ्चालक टेलिसोनेरिया यस विषयमा आफैं पनि अझै गम्भीर हुनुपर्ने हो । अतः यस विषयमा उठेका विभिन्न विवादहरुलाई सम्बोधन गर्न, जनमानसमा लाभकर सम्बन्धी विषय थप पारदर्शी बनाउन र असुल गर्नुपर्ने करबारे नेपाल सरकारका निकायले अविलम्ब औपचारिक रुपमै सरकारी धारणा सार्वजनिक गर्न टीआई नेपाल माग गर्दछ ।

पद्मिनी प्रधानाङ्ग

महासचिव