प्रेस विज्ञप्ति

न्यायपालिका र संसदको गरिमा अभिवृद्धि गर्ने कार्य होस्

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले सदैव पारदर्शी, जवाफदेही एवं जिम्मेवार सरकार, स्वतन्त्र एवं निष्पक्ष न्यायपालिका, जनउत्तरदायी संसद, लोककल्याकारी लोकतान्त्रिक राज्य, जवाफदेही सार्वजनिक निकायहरुको पक्षमा वकालत गर्दै आएको छ । यसै अनुसार समय समयमा टीआई नेपालले आफ्ना धारणा व्यक्त गर्दै आएको पनि सर्वविदितै छ ।

यसै सन्दर्भमा न्यायपरिषद्ले केही दिन अघि सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि ११ जनाको सिफारिस गरी संसदीय सुनुवाईका लागि पठाएकोमा फिर्ता भएपछि उत्पन्न परिस्थितिबारे सञ्चार माध्यममा जिम्मेवार पदाधिकारीसहित विभिन्न व्यक्तिहरुबाट पक्ष र विपक्षमा आएका क्रिया, प्रतिक्रिया र घटनाक्रमलाई ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले गम्भीरतापूर्वक नियालिरहेको छ ।

राज्य र न्यायपालिकाप्रति विश्वास राख्दै न्यायका लागि अदालतको ढोकामा पुगेका पीडित नागरिकका बीसौं हजार मुद्दा न्यायाधीशको कमीका कारण सर्वोच्च अदालतमा नै फछ्र्योट हुन बाँकी रहेको खबर पनि सार्वजनिक भइरहेका छन्– यो अत्यन्त संवेदनशील विषय हो भन्ने टी.आई. नेपाल ठान्दछ ।

यस्तो अवस्थामा पनि आ–आफ्ना जिम्मेवारी अन्तर्गतका निकायलाई पूर्णता दिने कार्य नहुनु, न्यायाधीश जस्तो गरिमामय र निष्पक्ष रहनुपर्ने पदका लागि व्यक्ति सिफारिस गर्दा पर्याप्त विचार पु¥याई संवेदनशील हुन नसक्नु र यो वा त्यो बहानाबाट ढिलाइ भइरहनुबाट न पीडित नागरिकले न्याय पाउन सकेका छन् न न्यायपालिका र संसद जस्ता राज्यका आधारस्तम्भप्रतिको आस्था र विश्वास अभिवृद्धि हुन सकेको छ । यी सम्पूर्ण पक्षलाई पुनः विचार गरी न्यायाधीश नियुक्तिको विषय अरु ढिलाई नगरी टुंगो लागोस्, पीडित नागरिकले समयमा न्याय पाउन सकून, सबै निकाय र पदाधिकारीले जिम्मेवारपूर्ण व्यवहार गरी न्यायपालिका र संसदको गरिमा अभिवृद्धि गर्ने कार्य होस् भनी सम्बद्ध सबैपक्षसँग टीआई नेपाल विशेष आग्रह गर्दछ ।

 

भरतबहादुर थापा

अध्यक्ष