२०७३।०१।३१

प्रेस विज्ञप्ति

एन सेलसम्बन्धी पुँजीगत लाभकरका बारेमा

नेपालमा कार्यरत दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसम्बन्धी पुँजीगत लाभकरका बारेमा केही दिनदेखि आइरहेका समाचारहरुलाई ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले सुरुदेखि नै सम्बन्धित निकायसँग यथार्थ बुझ्ने प्रयत्न गर्दैआएको हो । हालसम्म यो विषयमा चित्तबुझ्दो निक्र्योल भएको नदेखिएकाले आम नागरिकमा सरकारका सम्बन्धित निकाय र पदाधिकारी एवं सम्बन्धित कम्पनीको विश्वसनीयतामा प्रश्न उठ्न थालेको हामीले महसुस गरेका छौं ।

मुलुकको कानूनअनुसार लाग्ने कर कुनै पनि बहानामा व्याख्या अपव्याख्या गरी छल्ने, छलाउने, कम गर्ने वा नतिर्ने गर्नु गराउनु हुँदैन पाइँदैन भन्ने कुरामा टीआई नेपालको धारणा एवं अडान अडिग छ । अझ टीआई नेपालकै रोहबरमा पारदर्शिता, जवाफदेहिता र करलगायत वित्तीय नियम कानूनको पूर्ण परिपालना गर्ने लिखित प्रतिवद्धतामा हस्ताक्षर गरेको एनसेलजस्तो कम्पनीले यस्तो विषयमा थप गम्भीर हुनुपर्ने भन्ने हाम्रो धारणा हो । यी समग्र पक्षलाई विचार गरी कर तिर्ने तिराउने व्यवस्था अविलम्ब गर्न गराउन सम्बन्धित पदाधिकारी, कार्यालय, एनसेल प्रा.लि, नियामक निकाय र नेपाल सरकार समेतलाई टीआई नेपाल ध्यानाकर्षण गराउँदछ ।

भरतबहादुर थापा
अध्यक्ष