प्रेस विज्ञप्ति

अनुचित कार्यउपर छानबिन तहकिकात कसले गर्ने

नेपालको संविधानले साविकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कर्तव्यमा पर्ने’’सार्वजनिक पद धारण गरेको व्यक्तिले अनुचित कार्य वा भ्रष्टाचार गरेको सम्बन्धमा अनुसन्धान र तहकिकात गर्न वा गराउन सक्ने‘‘ भन्ने व्यवस्थाबाट ’’अनुचित कार्य‘‘ हटाइएको र त्यसको सट्टा अनुचित कार्य उपर छानबिन तहकिकात कसले गर्ने गराउने भन्ने कानूनी व्यवस्था समेत नहुँदा मुलुकमा बेथिति, जवाफदेही हिनता, लापरबाही जस्ता भ्रष्टाचारजन्य क्रियाकलाप बढ्न थालेको अवस्थातर्फ ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

भइरहेको संस्थाको कार्यक्षेत्रबाट अनुचित कार्य उपर हेर्ने अधिकार झिकिनु र अन्य कुनै प्रभावकारी र विश्वसनीय व्यवस्था समेत नभएबाट विकास निर्माण, सार्वजनिक सेवा प्रवाहलगायत सबैक्षेत्रमा असर परिरहेको छ । यस्तो अवस्था लामो समयसम्म रहन दिनु मुलुकको हितमा नहुने हुँदा यस विषयमा अविलम्ब गम्भीरतापूर्वक छलफल एवं विचार विमर्श गरी उपयुक्त एवं विश्वसनीय निकास पहिल्याउन सम्बन्धित सबै पक्षलाई टीआई नेपाल आग्रह गर्दछ ।

 

 

भरतबहादुर थापा

अध्यक्ष