प्रेस विज्ञप्ति
पूर्व विशिष्ट पदाधिकारीलाई आजीवन सरकारी सुविधा दिन
प्रस्ताव गरिएको विधेयक फिर्ता गरियोस्

काठमाडौं, असार ८ । सरकारले पूर्व राष्ट्रपतिदेखि पूर्व गृहमन्त्रीसम्मका पूर्व विशिष्ट पदाधिकारीहरुलाई आजीवन गाडी, सुरक्षा, आवास र सचिवालय लगायतको सरकारी सुविधा दिने र आजीवन औषधिउपचार खर्च समेत बेहोर्ने कानूनी व्यवस्था गर्न संसदमा विधेयक दर्ता गरेको भन्ने समाचारप्रति ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको ध्यानाकर्षण भएको छ ।

अहिले मुलुक समयमा संविधान निर्माण हुन नसकी आम नागरिकमा नैराश्यता बढ्दै गएको, भूकम्पका कारण ठूलो जनधनको क्षतिका साथै पुनःस्थापना र पुनः निर्माणको चुनौती बेहोरिरहेको अवस्थामा छ । यस्तो अवस्थामा पनि पूर्वविशिष्टहरुलाई सुविधा दिने प्रावधान गरेर सरकारले राज्यको ढुकुटी दुरुपयोग गर्ने ढोका खोल्न लागेकोतर्फ टीआई नेपाल गम्भीर आपत्ति व्यक्त गर्दै सम्बद्ध सबैलाई सचेत रहन आग्रह गर्दछ ।

भूकम्प पीडित समुदायमा समयमै राहत र पुनर्वास सम्बन्धी काममा विशेष ध्यान दिनुपर्ने बेलामा आफ्नै लागि राज्यको ढिकुटीको दुरुपयोग गर्न खोज्नु दुःखपूर्ण छ । सरकारले एकातर्फ राज्य सञ्चालन गर्न सहयोग अनुदान खोजिरहेको छ र अर्कातर्फ पूर्व विशिष्ट पदाधिकारीहरुको नाममा ठूलो रकम खर्च गर्ने बाटो खोल्न प्रस्ताव गरिरहेको छ । यो आफैंमा अन्तरविरोधी छ । त्यसमाथि काठमाडौंमै घर र सम्पत्ति भएका पूर्व विशिष्ट पदाधिकारीहरुलाई कानूनी रुपमै आजीवन सुविधा दिने प्रस्ताव गर्नुले सार्वजनिक हित गर्दैन । टीआई नेपाल यो विधेयक तुरुन्त फिर्ता गर्न सरकार समक्ष जोडदार माग गर्दछ ।

भरतबहादुर थापा
अध्यक्ष