प्रेस विज्ञप्ति
स्वार्थ बाझिएका नियुक्ति बारे तत्काल निर्णय लिइयोस्
२०७९ माघ ११ काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा हालै गठित मन्त्रिपरिषद्द्वारा भ्रष्टाचार विरुद्ध व्यक्त गरिएको नीतिगत प्रतिबद्धता स्वागतयोग्य छ । यस सन्दर्भमा उक्त प्रतिबद्धतासँग मेल नखाने गरी मन्त्रिपरिषद्मा स्वार्थ बाझिएका कतिपय व्यक्तिहरू नियुक्त गरिएकोे तथ्यप्रति ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआईं) नेपालको ध्यानाकर्षण भएको छ ।
लोकतान्त्रिक मुलुकहरूमा सार्वजनिक पदमा नियुक्त हुने पात्र छनौट गर्दा स्वार्थ बाझिएको छ वा छैन भनी हेर्ने सामान्य प्रचलन हो । त्यसमा पनि मन्त्रिपरिषद् राज्य संरचनाको सबभन्दा उच्च तह हो, जसको राज्य सञ्चालनका नीतिगत निर्णयमा महत्वपूर्ण भूमिका हुन्छ । नवगठित मन्त्रिपरिषद्मा स्वार्थ जोडिएकै व्यक्तिहरू नियुक्त भएको विषय आमतहमा समेत व्यापक तहमा उठिरहेको हुँदा तत्काल यसको निक्र्यौल हुनुपर्छ भन्ने मान्यता टीआई नेपालको छ । अन्यथा भ्रष्टाचार विरुद्ध सरकारको प्रतिबद्धता कार्यान्वयन हुन असहज हुने र सरकारप्रतिको जन अपेक्षा निराशातर्फ धकेलिने देखिन्छ ।
लोकतन्त्रको विश्वव्यापी मान्यता अनुरूप मन्त्रिपरिषद्का सदस्यहरूले आफू संलग्न रहेको संस्था, कम्पनी, शेयर कारोबार, आफूसँग भएका चल–अचल सम्पत्ति अविलम्ब सार्वजनिक गर्नुपर्छ । सुशासन खातिर पनि मन्त्रिपरिषद् र यसका सदस्यहरू आफैं निःशर्त कानून पालन गर्न अग्रसर हुनुपर्छ र नीति, निर्णय एवम् कानूनी प्रक्रिया प्रभावित हुन सक्ने कुनै पनि कार्य–व्यवहारबाट पृथक् रहनुपर्छ । यस परिप्रेक्ष्यमा प्रधानमन्त्रीले मुलुकलाई सुशासनको बाटोमा हिंडाउन प्रतिबद्ध रहेको अनुभूति दिलाउन स्वार्थ बाझिएका मन्त्रिपरिषद् सदस्यहरूका सम्बन्धमा तत्काल निर्णय लिनुपर्नेबारे टीआई नेपाल गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ ।
पद्मिनी प्रधानाङ्ग
अध्यक्ष