प्रेस वक्तव्य
संघीय र प्रादेशिक निर्वाचन २०७९ को सन्दर्भमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आह्वान
३० कात्तिक २०७९
नेपालको संविधान अनुसार संघीय र प्रादेशिक निर्वाचन यही २०७९ साल मंसिर ४ गते हुन लागेको सर्वविदितै छ । निर्वाचनबाट प्रतिनिधिसभा र सातवटा प्रदेशसभाको निर्माण हुनेछ, जसको अनुक्रममा संघीय सरकार र सात प्रादेशिक सरकार निर्माण हुनेछन् । नेपाल र नेपालीका लागि अत्यन्त महत्वपूर्र्ण यस निर्वाचनलाई स्वच्छ, सार्थक र सफल बनाउन निम्न सम्बद्ध पक्षहरूलाई ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल आह्वान गर्दछ ।
सरकार
निर्वाचन पूर्व, निर्वाचनको (मतदानको) चरणमा र निर्वाचनपछि पनि मुलुकभर शान्ति सुव्यवस्था कायम गर्दै आम–नागरिकसँग सम्बन्धित जनस्वास्थ्य र आपूर्तिका व्यवस्था कायम गर्दै साना\ठूला सबै दल, सम्पूर्ण उम्मेदवारहरू र मतदाता समेतलाई शान्तिपूर्वक र भय, त्रासमुक्त वातावरणमा आफ्नो अभिमत व्यक्त गर्न सक्ने वातावरण बनाउन संघ र प्रदेश सरकारहरूलाई आह्वान गर्दछौं ।
निर्वाचन¬ आयोग
निर्वाचनलाई विश्वसनीय, स्वच्छ र निष्पक्षरुपमा सम्पन्न गराउने जिम्मेवारी निर्वाचन आयोगको भएकाले निर्वाचन प्रचार–प्रसारमा सहजता, मतदाता शिक्षा र मतदान केन्द्रहरूको उपयुक्त व्यवस्थाका अतिरिक्त मतदाताले सहजरुपमा निर्भयतापूर्वक मतदान गर्न पाउने वातावरण बनाउन तथा मतगणना र नतिजा घोषणा समेतमा विश्वसनीय व्यवस्था मिलाउन निर्वाचन आयोगलाई आह्वान गर्दछौं ।
राजनीतिक दल
दलहरूको घोषणा–पत्र, उम्मेदवार छनौट र प्रचार–प्रसार शैलीले मतदाताको अपेक्षाको निर्माण गर्ने हुँदा उपयुक्त, सक्षम, सेवामुखी र योग्य उम्मेदवारलाई प्रोत्साहन गर्न, निर्वाचन आचार–संहिता अनुकूल सभ्य र शिष्ट प्रचार–प्रसार शैली अवलम्बन गर्न तथा मतदान, मतगणना र परिणाम घोषणापछि सभ्य र जिम्मेवारीपूर्ण व्यवहार गर्न गराउन राजनीतिक दलहरूलाई आह्वान गर्दछौं ।
उम्मेदवार
निर्वाचनमा भाग लिने उम्मेदवारले मतदान पूर्व, मतदानको समयमा, मतगणनाको समयमा र निर्वाचन परिणाम घोषणापछि पनि संयमित र उच्च नैतिक आचरण प्रस्तुत गर्नुका साथै मतदातालाई डर, त्रास, भ्रम वा लोभ–लालचमा नपारी निर्भयतापूर्वक आफ्नो स्वतन्त्र अभिमत व्यक्त गर्न सक्ने वातावरण बनाउन आह्वान गर्दछौं । साथै, निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार–संहिता अनुकूल आचरण र व्यवहार प्रदर्शन गर्न गराउन पनि सबै उम्मेदवारमा अनुरोध गर्दछौं ।
मतदाता
आफैले आफ्ना लागि प्रतिनिधि छनौट गर्ने यो निर्णायक घडीमा कसैको लोभ–लालच, भ्रम वा भय त्रासमा नपरी आफ्नो विवेकले मतदान गर्न, स्वार्थ नभएका र उच्च नैतिक आचरण भएका सक्षम व्यक्तिलाई मतदान गरी आफू र आफ्ना सन्ततिको भविष्य सुनिश्चित गर्न मतदातालाई आह्वान गर्दछौं ।
चन्दादाता
निर्वाचनको क्रममा राजनीतिक दल वा उम्मेदवारलाई चन्दा, सहयोग दिन चाहने नागरिक, उद्योगी, व्यवसायी वा अन्य व्यक्तिहरूले आफूले दिएको सहयोग पारदर्शी गर्न र निर्वाचन आचार–संहिता प्रतिकूल कुनै सहयोग नदिन अनुरोध गर्दछौं ।
सञ्चारजगत्
निर्वाचनको प्रत्येक चरणमा निष्पक्ष पहरेदारको रुपमा सञ्चारजगत्ले स्वच्छ प्रतिस्पर्धा, निर्वाचन आचार–संहिताको पालना, मतदाताको भूमिका र सही उम्मेदवार छनौटमा सकारात्मक समाचार सम्प्रेषण गर्न÷गराउन आह्वान गर्दछौं ।
राज्य व्यवस्थाको सुदृढीकरणका साथै भ्रष्टाचार नियन्त्रण, सुशासन र सदाचारलाई प्रोत्साहन गर्नु आजको आवश्यकता हो । यसका लागि निर्वाचित हुने प्रतिनिधि योग्य, सक्षम र सदाचारी हुनु आवश्यक छ । तसर्थ, नेपाल र नेपालीको भविष्यसँग जोडिएको यस निर्वाचनलाई सफल बनाई उपयुक्त व्यक्ति मात्र निर्वाचित हुन सक्ने वातावरण बनाउन सबै सरोकारवालाको सकारात्मक भूमिकाका लागि ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल जोडदार आह्वान गर्दछ ।
पद्मिनी प्रधानाङ्ग
अध्यक्ष
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल