मितिः २०७९ फागुन १
प्रेस विज्ञप्ति
नेपाल सरकारले २०७९ माघ २७ गते संसद सचिवालयमा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ दर्ता गराएको विषयमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको ध्यानाकर्षण भएको छ ।
‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन २०६४’ को मूल उद्देश्य नै अपराधजन्य कार्यबाट प्राप्त सम्पत्ति शुद्धीकरणको निवारण हो । तसर्थ, ऐनको मूल मर्म र उद्देश्य प्रतिकूल हुने गरी ‘स्रोत नखुलेको सम्पत्तिमा कर तिरेमा सो सम्पत्तिलाई स्वतः वैधता प्रदान गरिने अर्थात् अवैध तरीकाले आर्जित धनलाई स्वतः वैध तुल्याइने बाटो’ प्रस्तावित संशोधन विधेयकले नखोलोस् भन्नेतर्फ सजग रहन टीआई नेपाल नवनिर्वाचित सांसदहरु र समग्र संसदको ध्यानाकर्षण गर्दछ ।
नेपाल भ्रष्टाचार विरुद्ध अन्तर्राष्ट्रिय महासन्धिको पक्षराष्ट्र भएको हुँदा अवैध तरीकाले आर्जित धनलाई कुनै पनि बहानामा वैध तुल्याउने बाटो खोल्नु उक्त महासन्धिको प्रतिकूल हुने देखिन्छ । साथै, अदालतले सम्पत्ति शुद्धीकरण मूल कसूरको सह उत्पादन भएको र मूल कसूर लुकाएर आर्जित सम्पत्ति बैध देखाउन गरिने कार्यलाई अपराधको कोटिमा राख्ने नजीर कायम गरिसकेकाले त्यसलाई बेवास्ता गर्नु कानूनी राज्यको अवधारणा प्रतिकूल हुन जान्छ । तसर्थ, अवैध तरीकाले आर्जित धनलाई कुनै पनि तरीकाले वैध तुल्याउने बाटो वा छिद्र प्रस्तावित संशोधन विधेयकले नखोलोस् भन्नेतर्फ ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल सबै सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छ ।
पद्मिनी प्रधानाङ्ग
अध्यक्ष