नीति वकालतका अतिरिक्त, पारदर्शिता, जवाफदेहिता र सदाचारमा योगदान पुर्याउन टीआई नेपालद्वारा दाता समुदायको सहयोगमा समयबद्ध परियोजनाहरू कार्यान्वयन गरिन्छ। टीआई नेपालद्वारा सम्पन्न गरिएका र हाल संचालनमारहेका केही परियोजनाहरू निम्नानुसार छन्:
चालु परियोजनाहरू
नेपालमा सुशासनको पहल (जीआईएन)
टीआई नेपालको जीआईएन परियोजनाले जवाफदेहिता, सूचना, सदाचार र नेतृत्वलाई प्राथमिकता दिँदै सञ्चारक्षेत्र, निजीक्षेत्र र नागरिक संस्था र व्यावसायिक संस्थाहरूसँगको साझेदारीको सञ्जाल बढाउनेछ । यसले एकल महिला, एलजीबीटीक्यू+, आप्रवासी, र भ्रष्टाचारबाट प्रभावित पीडितहरूको समस्याबारे वकालत गर्नेछ । यसले भ्रष्टाचार विरोधी कानुन र नीतिको अध्ययन गरी तिनको सुदृढीकरणको लागि सिफारिस गर्नेछ । जीआईएनले भ्रष्टाचारका चुनौति, जोखिम र त्यसले पारेको प्रभावको वारेमा आम नागरिक र नीति–निर्मातालाई जानकारी दिने उद्देश्य राखेको छ । यसले सेवाप्रवाहमा दिगो सुधारका लागि सरकारलाई सहयोग गर्न सामाजिक जवाफदेहिताका औजारहरूमार्फत सहजता पुर्याउनेछ । यस परियाजनाले मतदाता, राजनीतिक दल र संसद्को संलग्नतामा राजनीतिक सदाचार अभिवृद्धि कायम गर्न ध्यान केन्द्रित गर्नेछ । जीआईएनले टीआई नेपालका कार्यहरूको दिगोपनमा सहयोग गर्ने गतिविधिहरू गर्नेछ ।
क्लाइमेट गभर्नेन्स इन्टिग्रिटी प्रोग्राम (CGIP)
जलवायु सुशासन र सदाचार कार्यक्रम (CGIP) जलवायु वित्तलाई सदाचार, पारदर्शिता र जवाफदेहितामार्फत सुशासित गर्न तर्जुमा गरिएको हो। ट्रान्सपरेन्सी इन्टरनेशनलद्वारा संचालित यो कार्यक्रम विश्वभरका २५ भन्दा बढी देशहरूमा त्यहाँका सबैभन्दा प्रभावित समुदायहरूलाई जलवायु संकटसँग अभ्यस्त हुनकालागि सघाउन सञ्चालन भइरहेको छ।
यस कार्यक्रमले मुख्यतः जलवायु नीति, जलवायु कार्य र जलवायु न्यायका लागि पहल गर्दछ। जलवायु नीति अन्तर्गत जलवायु कार्य सम्बन्धी नीति बनाउने तथा प्रक्रियाहरु पारदर्शी, जवाफदेही र समावेशी बनाउने रहेको छ। जलवायु कार्यभित्र जवाफदेहिता, सदाचार, जलवायुसम्बन्धि कार्यको निगरानी पर्दछ। त्यसैगरी जलवायु न्याय अन्तरगत वातावरणीय अपराध र भ्रष्टाचारबाट पीडितहरूका लागि उचित न्याय दिलाउनु रहेकको छ।
सम्पन्न परियोजनाहरू
भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा सदाचार कार्यक्रम
विनाशकारी गोरखा भूकम्पपछिको पुनर्निर्माण कार्यमा इमान्दारिता कायम गर्न युरोपियन युनियन (EU) को आर्थिक सहयोगमा यो परियोजना कार्यान्वयन गरिएको हो । यो परियोजना सन् २०१६ देखि २०२१ अप्रिलसम्म कार्यान्वयनमा आएको थियो ।
परियोजना सम्पन्न भएको छ।
स्वास्थ्यका लागि खुला सम्झौता (OC4H)
टीआई नेपालले स्वास्थ्य क्षेत्रको सार्वजनिक खरिदमा दक्षता र पारदर्शिता सुनिश्चित गर्न २०१८ देखि जुन २०२१ सम्म OC4H कार्यक्रम लागू गरेको थियो। डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (DFID) र ट्रान्सपरेन्सी इन्टरनेशनलको सहयोगमा यो बहु-देशीय कार्यक्रम थियो।
परियोजना सम्पन्न भएको छ।
जलवायु सुशासन र सदाचार (CGI)
२०१६ मा प्रारम्भ भएको यस जलवायु सुशासन र सदाचार (CGI) परियोजनाले समग्रमा जलवायु सम्बन्धि शासन ब्यवस्थाको सुधार गर्न सघाउने लक्ष्य लिएको थियो। यस परियोजनालाई ट्रान्सपरेन्सी इन्टरनेशनल मार्फत जर्मन संघीय वातावरण, प्रकृति संरक्षण, भवन र आणविक सुरक्षा मन्त्रालय (BMU) द्वारा आर्थिक सहयोग प्राप्त थियो। यो कार्यक्रम डिसेम्बर २०२१ मा सम्पन्न भएको हो।
परियोजना सम्पन्न भएको छ।
सामाजिक जवाफदेहिता र सदाचारकालागि सहकार्य (T-SAI)
टीआई नेपालले २०२० मा ट्रान्सपरेन्सी इन्टरनेशनलको सहयोगमा तीन वर्षे परियोजना TSAI कार्यक्रमको शुरुवात गर्यो। यो परियोजनाले महिला र विपन्न समूहहरू लगायत मानिसहरूलाई भ्रष्टाचार विरोधी कार्यमा सक्रिय रूपमा संलग्न हुन र भ्रष्ट कार्यका अवसरहरूलाई कम गर्न सामाजिक उत्तरदायित्व संयन्त्रको प्रयोग गर्न प्रोत्साहित गरेको छ।
परियोजना सम्पन्न भएको छ।