प्रेस विज्ञप्ति
कुशासन र भ्रष्टाचारबाट देशलाई मुक्त गर्ने ऐतिहासिक जेन जी आन्दोलनको सिलसिलामा दिवंगत हुनुभएका देशभक्त नवयुवाहरूमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वहाँहरूको आत्माको चिरशान्तिको कामना एवम् शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना ब्यक्त गर्दछ । घाइते हुनुभएकाहरूको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
आन्दोलनको क्रममा राष्ट्रको बहुमूल्य सम्पत्तिमा पुगेको अकल्पनीय क्षतिप्रति ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल गहिरो दुःख ब्यक्त गर्दछ । यसै परिप्रेक्षमा यस संस्थाले समय–समयमा विभिन्न क्षेत्रमा बढ्दो भ्रष्टाचारको बारेमा गम्भीर भई प्रभावकारीरुपमा नियन्त्रण गर्न सरकार र सरोकारवालालाइ सचेत गराउँदा पनि कुनै सुनुवाइ नभएकोमा थप पीडा महसूस गरिएको छ । राष्ट्रको सम्पत्ति जोगाउनु हामी सबैको दायित्व हो । अब उपरान्त पूर्ण जवाफदेहीताकासाथ जिम्मेवार भई त्यस्तो अवस्था आउन नपर्ने गरी राष्ट्र सञ्चालन होस् भन्ने चाहान्छौँ ।
अबको बाटो भनेको देशलाई पूर्णरुपमा सुशासनयुक्त ढंगले संचालन गरि आम–नागरिकले कदम कदममा व्यहोर्नुपरेका भ्रष्टाचारको उत्पीडनको अन्त्य हो । युवापिंढ़ीले आफ्नै मातृभूमिमा प्रचुर सम्भावनाका अवसर पाउने ब्यवस्था मिलाउन सक्ने क्षमता भएका व्यक्तिहरूले सेवाभावबाट प्रेरित भई सरकारसहित राष्ट्रका तीनै अंग सञ्चालित हुने व्यवस्था मिलाउनु पर्दछ । यस महान् कार्यका लागि राष्ट्रको बागडोर समाल्न तत्पर जेन–जी युवा नेतृत्व, सरोकारवालाहरू एवम् आम–नागरिकसँग सहकार्य गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल तयार रहेको जानकारी गराउँदछौं ।
मदन कृष्ण शर्मा
अध्यक्ष
२०८२ भदौ २५