हार्दिक श्रद्धाञ्जली
ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालका संस्थापक एवम् पूर्व अध्यक्ष तथा नेपाल सरकारका पूर्व मुख्य सचिव श्री दामोदर प्रसाद गौतमज्यूको यही चैत १२ गते स्वर्गारोहण भएको खबरले हामीलाई स्तब्ध बनाएको छ । भ्रष्टाचार नियन्त्रणको कार्यमा नागरिक समाजको संग्लग्नता महत्वपूर्ण हुन्छ भन्ने मान्यताका साथ उहाँ समेतको अगुवाईमा वि.सं. २०५३ सालमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको स्थापना भएको थियो ।
पूर्व अध्यक्ष गौतम प्रशासन, बैकिङ्ग लगायत अध्ययन/अध्यापन तथा कूटनीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएको थियो । स्पष्ट वक्ता, अनुभवी र कर्मठ ब्यक्ति श्री गौतमज्यूको निधनबाट यस संस्थाले आफ्नो एक अभिभावक तथा एक सशक्त भ्रष्टाचार बिरोधी अभियन्ता गुमाएको अनुभूति गरेको छ । यस दुःखद घडीमा उहाँको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसंतप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल प्रार्थना गर्दछ । देश तथा यस संस्थाको उद्देश्य प्राप्तिमा पुर्याउनु गर्नुभएको योगदानको उच्च कदर गर्दै संस्थाका पदाधिकारी, सदस्य र कर्मचारी वहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ ।
मदन कृष्ण शर्मा
अध्यक्ष
तथा टी.आई.नेपाल परिवार