हार्दिक श्रद्धाञ्जली
२०८१ मंसिर ४
ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालका संस्थापक तथा पूर्व अध्यक्ष श्री दमननाथ ढुंगानाको २०८१/०८/०२ गते असामयिक निधन भएको खबरले हामी स्तब्ध भएका छौँ । आजभन्दा २९ वर्षअघि नेपाली समाजका केही प्रबुद्ध व्यक्तिहरूको अग्रसरतामा यस संस्था स्थापना गर्न÷गराउन स्वर्गीय श्री ढुंगानाको महत्वपूर्ण योगदान रहेको थियो । संस्था स्थापना भएको केही वर्षपश्चात् अध्यक्षको हैसियतले नेपालमा नागरिक स्तरबाट भ्रष्टाचार विरोधी अभियान संस्थागत गराउन उहाँले विविध कार्यक्रमको सुरुवात पनि गर्नुभएको थियो ।
श्री ढुंगाना मानवअधिकार, संविधान तथा कानुन, न्याय, समाजसेवा लगायत राजनीतिमा पनि लामो समयदेखि सक्रिय रहँदैआउनु भएको थियो । उहाँ २०४६ सालमा बहुदलीय व्यवस्थाको पहिलो सभामुखको रुपमा पनि निर्वाचित हुनुभएको थियो । अथक चिन्तनशील र सेवाभावी उहाँको निधनबाट यस संस्थाले आफ्नो एक शुभचिन्तक गुमाएको अनुभूति गरेको छ । यस दुःखद् घडीमा उहाँको आत्माको चिर–शान्तिको कामना गर्दै शोक–सन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल प्रार्थना गर्दछ । उहाँले प्रस्तुत गर्नुभएको आदर्शको उच्च कदर गर्दै यस संस्थाका पदाधिकारी, सदस्य र कर्मचारी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ ।
मदन कृष्ण शर्मा
अध्यक्ष