मिति : २०७७/०४/२६
प्रेश विज्ञप्ति
विवादास्पद नियुक्ति खारेज गरियोस् ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल भ्रष्टाचार विरुद्ध र सुशासनका पक्षमा निरन्तर लागिरहने नागरिक संस्था हो । हालै मात्र नेपाल सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा आर्थिक तथा राजनैतिक विचौलियाको रुपमा काम गर्ने अत्यन्त विवादास्पद छवि बनाएका व्यक्तिलाई नियुक्त गरेको खबरले यस संस्थाको ध्यानाकर्षण भएको छ ।
विश्वभरीका लगानीकर्ताहरुको विश्वास आर्जन गरेर मुलुकमा राष्ट्रिय महत्वका ठूला विकास निर्माणका आयोजनाहरु भित्र्याउन सक्ने योग्य, ईमान्दार र विश्वसनीय व्यक्तीको छनौट गरी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनुपर्नेमा कालोसूचीमा परेका अन्तराष्ट्रिय कम्पनिहरुको एजेन्टको रुपमा काम गरी बदनाम कमाएका, कमिशनको चक्करमा राजनैतिक बिचौलियाको परिचय बनाएका तथा नागरिक स्तरमा व्यापक आलोचित व्यक्तिलाई नियुक्त गरिनु अत्यन्त आपत्तिजनक विषय हो ।
सुशासनका माध्यमबाट आर्थिक सम्वृद्धि ल्याउने घोषणा गरेको सरकारले संचारमाध्यम लगायत सचेत नागरिक समाजबाट जस्को नियत प्रवृति र चरित्र बारे पटक पटक आलोचनात्मक टिप्पणी भएको छ त्यस्ता व्यक्तिलाई राज्यको आर्थिक सम्वृद्धिको हिसाबले महत्वपूर्ण निकायको रुपमा रहेको लगानी बोर्डको कार्यकारी प्रमुखको जिम्मेवारी सुम्पनु अत्यन्त विरोधाभासपूर्ण छ । कानूनद्वारा निर्धारित न्यूनतम योग्यता र अनुभव समेत शंकास्पद रहेका विवादास्पद चरित्रको व्यक्तिलाई अन्य कुनै विकल्पै नभए जसरी नागरिक आवाजको उपेक्षा गर्दै बलमिच्याई गरी नियुक्ती दिनुका पछाडि सरकारको नियत माथि पनि गम्भीर प्रश्न तेर्सिएका छन् । नागरिक आवाजको उपेक्षा गर्नु अधिनायकवाद तर्फको यात्रा हो ।
सरकारको यस्तो अनुत्तरदायी र अधिनायकवादी कार्यशैलीले न त मुलुकमा सुशासनको प्रत्याभूति हुनेछ न त आर्थिक विकासमा नै टेवा पुग्ने छ, बरु जनतामा उल्टै निराशा र वितृष्णा बढाउने छ । अतः सरकारले आफ्नो छवि स्वच्छ र निष्कलंक राख्न पनि उक्त विवादास्पद नियुक्ती खारेज गरी जनतामा आशा र विश्वासको संचार गराओस् भनी जोडदार माग गर्दछौं ।
खेमराज रेग्मी
अध्यक्ष