प्रेश विज्ञप्ती
(ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्धारा संवैधानिक परिषदलाई २०७७ असोज ११ गते प्रेशित पत्र)
स्वतन्त्र निष्पक्ष र निर्भिक आयुक्तहरुको सिफारिस होस ।
ट्रान्सपरेन्सी इन्टरनेशनल(टीआई) नेपाल भ्रष्टाचार नियन्त्रण तथा सुशासन पक्षमा निरन्तर लागिरहने संस्था हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको पद हालसालै रिक्त हुन आएको र अन्य आयुक्तहरुको पद पनि विगत लामै समय देखि रिक्त भई आएको छ । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नमा उक्त आयोगको महत्वपूर्ण संवैधानिक दायित्व रहेको छ । तर आयोगले केहि अपवाद छाडेर राजनैतिक नेतृत्वहरु संलग्न भएको ठूला भ्रष्टाचार (Grand Corruption) का मुद्दाहरु शक्ति केन्द्रहरु र सत्ता पक्षको दवाब र प्रभावमा परी अल्मलाएर राख्ने र अन्ततः तामेलीमा राख्ने गरेको छ । आयोगको यस्तो निरिह कार्यशैलीले आयोगको औचित्य माथि नै गम्भीर प्रश्नहरु उठ्न थालेका छन् । यस्तो हुनुका पछाडि नियुक्तीका लागि गरिने सिफारिसमा गम्भीर त्रुटी मात्र होइन राष्ट्रिय स्वार्थलाई भन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राखेको देखिन्छ । तसर्थ संवैधानिक परिषदले प्रमुख आयुक्त तथा आयुक्तहरुको सिफारिस गर्दा देहायका तथ्यहरुमा ध्यान पु¥यावस् भनी हार्दिक अनुरोध गर्दछौं ।
१. दलीय भागवण्डा तथा परिषदकै सदस्यहरुको बीचमा हुने भागवण्डाका आधारमा सिफारिस गर्ने गरिएको गलत र सर्वाधिक आलोचित परिपाटीको अन्त्य गरी संविधानको मर्म र भावना अनुरुप स्वतन्त्र, निष्पक्ष र निर्भिक व्यक्तिहरुको सिफारिस गरियोस् ।
२. कुनै पनि राजनैतिक दलको सदस्य नरहेको भन्ने प्रावधानलाई कुनै पनि दलप्रति विशेष आग्रह पूर्वाग्रहबाट मुक्त र स्वतन्त्र छवि बनाएको व्यक्ति भन्ने अर्थमा लिई सिफारिस गरियोस् ।
३. प्रमुख आयुक्त तथा आयुक्तहरुमा अधिकांशतः पूर्व प्रशासकहरु मध्यबाट छनौट हुदै आएका छन् । उनीहरुमा सामान्यतः राजनैतिक नेताहरुसंगको सामिप्यताले गर्दा नेताहरु प्रति बढि अनुगृहित रहने र साहसपूर्वक न्यायिक मनको प्रयोग गर्न नसक्ने कमजोरी देखिएका छन् । अतः कानून, न्याय तथा विश्वविद्यालय एवं स्वतन्त्र निकायका अनुसन्धानकर्ताहरुलाई समेत ध्यान दिई सिफारिस गरियोस् ।
४. उच्च नैतिक चरित्र एवं ख्याति प्राप्त सम्बन्धी योग्यताका बारेमा वस्तुगत मापदण्ड एवं आधार तयार गरी कार्यान्वयन गरियोस् ।
५. संवैधानिक परिषद ऐन बमोजीम योग्य व्यक्तिहरुको अभिलेख तयार पार्दा विभिन्न प्रकृया र माध्यम अपनाई देशका प्रतिष्ठित एवं प्रवुद्ध वर्गको राय सुझावको आधार समेत लिइयोस् । अभिलेख वाहिरका व्यक्तिको नाम खल्तीबाट झिकी पेश गर्ने परिपाटी नियुक्ति सिफारिसमा हुने सबै विकृतिको जड हो, यस्तो परिपाटी बन्द गरिनु पर्दछ र अभिलेख पारदर्शी बनाइनु पर्दछ ।
६. सिफारिस हुने व्यक्तिप्रतिको जनभावना बुझ्न आवश्यकता अनुसार सार्वजनिक सुनुवाई समेत गर्ने परिपाटी बसाईयोस् ।
अन्त्यमा राज्यका शीर्षस्थ पदाधिकारीहरुको संलग्नताले बनेको संवैधानिक परिषदको संरचना आफैमा गर्व गर्न लायक संस्था हो र हुनुपर्दछ । मुलुकको व्यापक र समग्र हितमा यसका जिम्मेवारीपूर्ण निर्णयहरु आउनु पर्दछ । संवैधानिक निकायहरुको स्वतन्त्र, निष्पक्ष र सबल उपस्थितिले मात्र संवैधानिक दायित्वको प्रभावकारी निर्वाह हुन सक्दछ ।
खेमराज रेग्मी
अध्यक्ष