प्रेस विज्ञप्ति
लेखासमिति सदस्यसम्बन्धी निर्णय फिर्ता गरियोस्
०३/०१/२०७८, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको सिफारिसमा, सेक्युरिटी प्रेस खरिद प्रकरणमा आरोपित तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटालाई प्रतिनिधि सभा सार्वजनिक लेखासमितिको सदस्य तोकिएको विषयमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको ध्यानाकर्षण भएको छ ।
सेक्युरिटी प्रेस खरिद प्रकरणमा मन्त्रीको हैसियतमा बाँस्कोटाले ७० करोड रुपैयाँ घूस मागेको ‘अडियो टेप’ सम्बन्धी प्रकरणको छिनोफानो भइसकेको छैन । लेखासमितिले सेक्युरिटी खरिद प्रक्रिया र अडियो टेपका विषयमा थप छानबिन गरी भ्रष्टाचार मुद्दा लगाउन २०७६ फागुन ३० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई फाइल पठाएको थियो । लेखासमितिले छानबिन गरी मुद्दा नचलाएको विषयमा आयोगसँग जानकारी मागिरहेको अवस्था छ । बाँस्कोटालाई लेखासमितिकै सदस्य बनाएपछि यो प्रकरणमा पदीय प्रभाव पर्ने निश्चित भएकाले बाँस्कोटालाई लेखासमितिमा पठाइनु सर्वथा अनुचित छ ।
यो सिफारिस नेपाल सरकारको भ्रष्टाचार विरुद्धको ‘शून्य सहनशिलता’ नीतिको प्रतिकूल छ । बाँस्कोटालाई लेखासमितिको सदस्य बनाइनु संसदीय मान्यता, पद्धति र स्वार्थको द्वन्द्व (Conflict of Interest) सिद्धान्त प्रतिकूल भएको हुँदा यो विषयमा संसद् र एमाले संसदीय दल दुवै गम्भीर हुनुपर्छ । एमाले संसदीय दलको नेता प्रधानमन्त्री स्वयम् भएको हुँदा आफ्नै मान्यता विपरीतको यो निर्णय सच्याउनेतर्फ अग्रसर हुन जरुरी छ । मुलुककै ठूलो र जिम्मेवार सत्तारुढ पार्टीले आरोपित व्यक्तिलाई लेखासमितिमा पठाउने कार्य सुशासनविरुद्ध भएको हुँदा त्यो निर्णय तत्काल फिर्ता लिन ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल माग गर्दछ ।
मुकुन्द बहादुर प्रधान
महासचिव