ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालद्वारा जारी प्रेश विज्ञप्ति
कोभिड–१९ को खोप यथाशीघ्र उपलब्ध होस्
२४ वैशाख २०७८ । कोभिड–१९ को महामारीले विश्व नै आक्रान्त भएको छ । हालको यो महामारीको दोस्रो चरणमा अप्रत्याशित रुपले नेपालमा दैनिक हजारौं संक्रमितहरु थपिंदै छन् भने दैनिक मृत्यु संख्या पनि निरन्तर बढ्दो छ । राजधानी लगायतका अस्पतालहरुमा शैयाको चरम अभाव रहेको, अक्सिजन आपूर्तिमा अभाव भएको, आवश्यक औषधि र सामग्रीहरुको पनि अभाव भएको र उचित उपचारको अभावमा संक्रमितहरुले अकाल मृत्युवरण समेत गर्नु परिरहेको बारेका समाचारहरुले सर्वसाधारण जनता झन आक्रान्त भएका छन् ।
यस्तो अवस्थामा सरकारले सेरम इन्ष्टिच्यूट अफ इण्डिया प्रा.लि., भारतबाट खरिद गरिएको र गर्ने भनिएको खोपको आपूर्तिमा नेपालका केही कमिशन एजेन्टले प्रभाव पारी ढिलाई भैरहेको भन्ने समाचार सञ्चारमाध्यमबाट सार्वजनिक भएका छन्। उपरोक्त विषयहरुमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
यस संवेदनशील तथा जटिल परिस्थितिमा नेपाल सरकारलाई आफ्नो भूमिका थप प्रभावकारी बनाउन निम्न विषयमा ध्यानाकर्षण गराउन चाहन्छ:
१. जनताको जीवन रक्षा गर्नु सरकारको पहिलो र आधारभूत कर्तव्य हो, जसमा कुनै सम्झौता हुन सक्दैन । महामारी नियन्त्रणमा प्रभावकारी हुने खोप सम्पूर्ण नागरिकलाई यथाशिघ्र निःशुल्क उपलब्ध गराउनु पर्दछ । यसका लागि सर्वप्रथम पहिलो चरणको खोप सबैलाई उपलब्ध गराउनुका साथै पहिलो चरणमा खोप लिएकालाई दोस्रो चरणको खोपको व्यवस्था तोकिएको समयसीमाभित्रै हुनुपर्दछ । हाल यो प्रक्रिया अवरुद्ध भएकोले जनहीतकोलागि सरकारले शिघ्रातिशीघ्र खोपतालिका सार्वजनिक गर्नु जरुरी छ । खोप आपूर्ति किन रोकिएको, कुन राष्ट्रबाट कति खोप अनुदानमा आयो र कति आउन बाकिछ, कति खरिद भै आयो र कति आउन बाकी छ, हाल खोपको मौज्दात कति छ र कति नयां खरिदको क्रममा छ भन्नेबारे जनतालाई सुसूचित गराउनु पर्दछ । यस्ता सूचना प्राप्त गर्नु नागरिकको संविधानप्रदत्त मौलिक अधिकार पनि हो ।
२. विगत दुई वर्षदेखि टि.आई. नेपालले स्वास्थ सम्बन्धि सामग्री र औषधिकोलागि खुला करार प्रणाली अपनाउन नेपाल सरकार, औषधी व्यवसायी र सरोकारवालाहरुसंग विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । कोभिड–१९ जस्तो महामारीको अवस्थामा खोप लगायतका स्वास्थोपचार सम्बन्धि खरिदको प्रक्रिया झन बढि पारदर्शी र जवाफदेही बनाइनु पर्ने जन आकांक्षा हुन्छ । महामारीको समयमा स्वास्थ्योपचार सम्बन्धि खरिदमा अनियमितता हुनु राष्ट्रघाती काम हो । कमिशनका लागि नेपाली जनताको जीवनसँग खेलवाड गर्ने काममा सरकारी वा निजी क्षेत्रका कसैको संलग्न भएको भए छानविन गरी निर्मम कारबाही गरिनु पर्दछ । वास्तविकता पारदर्शी बनाइनु पर्दछ ।
३. कोभिड–१९ को रोकथाम, नियन्त्रण र व्यवस्थापनमा तीनै तहका सरकारको संयुक्त प्रयास र कार्ययोजना हुनु जरुरी छ । हाल महामारी रोकथामका लागि भइरहेको राजनीतिक र प्रशासनिक प्रयासमा प्राविधिक विशेषज्ञहरुको विज्ञतालाई थप महत्व दिई महामारी नियन्त्रणको अभियान अघि बढाइनु जरुरी छ ।
४. कोभिड–१९ रोकथाममा संलग्न सरकारका निकाय, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयम्सेवी, सामाजिक अभियन्ता, सेवाकर्मीले अनवरत रुपमा दुवै चरणको संक्रमणमा आफ्ना तर्फबाट सेवा पु¥याउँदै आएको कार्य सह्रानीय छ । यस्ता कार्यलाई प्रोत्साहन गर्न सरकारबाट विशेष पहलकदमी लिन जरुरी छ । साथै उनीहरूको स्वास्थ्य र सुरक्षा बारे थप संवेदनशील हुन जरुरी छ ।
कोभिड–१९ महामारी नियन्त्रण सम्बन्धि उपरोक्त विषय पारदर्शिता तथा जवाफदेहीताका साथ कार्यान्वयन होस् भनी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल सरकारसँग जोडदार माग गर्दछ । धन्यवाद ।
मुकुन्द बहादुर प्रधान
महासचिव