ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (डिसेम्बर ९, २०२१) को सन्दर्भमा जारी
प्रेस वक्तब्य
भ्रष्टाचार विरुद्धको कदम सशक्त बनाऔं
२०७८ मंसिर २३, काठमाण्डौं : सन् २००३, डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धी अनुमोदन गर्न खुल्ला गरिएको थियो । यसै दिनलाई भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका रुपमा विश्वभरि नै मनाइने गरिएको छ । यस दिवसले भ्रष्टाचार विरुद्धको अभियानमा ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय माहौल सिर्जना गरोस्’ भन्ने उद्देश्यले हरेक वर्ष ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले सार्वजनिक अपिल जारी गर्दैआएको छ ।
दशकौंदेखि विभिन्न सरकार परिवर्तनका वावजुद पनि नेपालमा भ्रष्टाचार नियन्त्रणको एजेन्डाले उचित प्राथमिकता पाउन सकेको छैन । अघिल्लो सरकारको पालामा भ्रष्टाचारसम्बन्धी केही काण्डहरू सार्वजनिक हुँदा पनि त्यसमा सम्बद्ध संवैधानिक र सरकारी पक्षहरूबाट यथोचित अनुसन्धान र कारबाही हुन सकेन । सन् २०२० मा जारी भएको Corruption Perceptions Index र Global Corruption Barometer Asia ले नेपालमा राजनीतिक भ्रष्टाचार र पदको दुरुपयोग प्रमुख समस्याको रुपमा रहेको देखाएको थियो । तर, यसतर्फ विगत तथा नयाँ सरकार गम्भीर भएको महसुस भएको छैन ।
आउँदा दिनहरूमा भ्रष्टाचार विरुद्धको महासन्धीअनुकूल देशका कानून निर्माण र भएका कानूनहरुको यथोचित कार्यान्वयन गर्नु जरुरी छ । यसैगरी, आसन्न निर्वाचनलाई स्वच्छ र पारदर्शी बनाउन कानूनी सुधारसहित निर्वाचन आचारसंहितामा कडाई गरिनु पर्दछ । यसतर्फ राजनीतिक दलहरू आफै प्रतिवद्ध हुन आवश्यक पर्नेछ ।
हाल सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सम्बन्धित विवादले न्याय सम्पादनमा लामो समयसम्म गम्भीर अवरोध आएको सम्बन्धमा पनि यसको निकासका लागि प्रधानन्यायाधीश आफै र सम्बद्ध पक्ष सक्रिय हुनुपर्दछ । साथै, यस दिवसका अवसरमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल कोभिड माहामारीको नियन्त्रण प्रभावकारी बनाउन खोप वितरणलगायतमा पारदर्शिता, द्रुतता एवं समावेशीता अपनाउन सरकारलाई र भ्रष्टाचार विरुद्धको आवाज उठाउँदै रहन सम्पूर्ण सचेत नागरिकलाई अपिल गर्दछ ।
पद्मिनी प्रधानाङ्ग
अध्यक्ष
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल